



दाङ – बबई गाउँपालिका १ र ७ वडा, दंगीशरण-१ फुर्केसल्लीका बासिन्दा जंगली जनावरका कारण आजित भएका छन्। विशेषगरी बबई-७ मलइ, लामितरा, स्यालीतरा, असारे र जलजला लगायतका बासिन्दालाई खेतबारीको अन्नबाली र घरपालुवा जनावर जोगाउन गाह्रो भएको हो।

पहिला यस्तो समस्या नभोगेका यहाँका बासिन्दा पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएपछि जंगली जनावरको कारण समस्यामा परेका हुन्। एकातिर निकै विकट क्षेत्र र त्यसमा पनि जंगली जनावरका कारण लगाएको अन्नबाली र पशुचौयाया पनि मार्ने गरेको स्थानीयवासीको गुनासो छ।


यस्तै गत वर्षदेखि मलई क्षेत्र र जलजला क्षेत्रमा विद्युत पुगेको भएयता पनि अझै लामितरा, स्यालीतरा, असारे लगायत क्षेत्रमा विद्युत सेवा नपुगेको स्थानीय बबई गाउँपालिका-७ स्यालीतराकी सरिता रानाले बताइन्। उनका अनुसार लामितरा, स्यालीतरा हुँदै असारेसम्म बिजुलीसमेत पुगेको छैन।


पहिला यस्तो समस्या नभोगेका त्यहाँका नागरिकले भने पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएपछि जंगली जनावरको कारण निकै समस्या पाइरहेका छन्। एकातिर निकै विकट क्षेत्र र त्यसमा पनि जंगली जनावरका कारण लगाएको अन्नबाली र पशुचौपाया पनि मार्ने गरेको बबई-७ मलईका जितलाल गिरीले बताए। उनका अनुसार जंगली जनावरका कारण छिल्लीकोटका बासिन्दाले गाउँ छाडेका छन्। अन्नबाली वा पशुचौपाया जंगली जनावरले खाए निकुञ्जले राहत दिने गरेको तर त्यो लिन जाँदा धेरै खर्च हुने समेत उनको गुनासो छ।
अमर बुढा मलइका बाँके राष्ट्रिय निकुञ्ज मध्यवती अन्तर्गत पुर्खेसल्ली मलइ मध्यवर्ती क्षेत्रका अध्यक्षका अनुसार वन्यजन्तुका कारण क्षेत्र पुगेका घरपरिवारलाई से्रस्ता जग्गा भएकाले मात्र राहत पाउने र ऐलानी जग्गा भएकाले रातह नपाउने बताए। ‘दर्ता जग्गा भएकाले मात्र राज्यबाट राहत पाउने गरेका छन्। ऐलानी जग्गा भएकालाई राज्यले राहत दिने गरेको छैन’, उनले भने। वर्ष दिनभर खाने अन्नबाली जंगली जनावरले खाए बापत दिइने राहत पर्याप्त नहुने बताए।
उनका अनुसार बाघले खसीब्राखा र बंगुर खाए प्रतिगोटाको १० हजार राहत दिने गरिन्छ। गाई, गोरु, राँगाहरु खाएको अवस्थामा पहिला ३० हजार दिने गरेकोमा अहिले यो वर्षदेखि ६० हजार दिने व्यवस्था गरिएको छ। बाँके राष्ट्रिय निकुञ्ज भएका कारण पनि जंगली जनावर बँदेलले अन्नबालीमा धेरै क्षति गर्ने गरेको उनले बताए।
उनले यो ठाउँमा बासिन्दालाई राज्यले पुनर्वास गरेमात्र यो समस्याबाट मुक्त हुने समेत बताए। उनका अनुसार जंगली जनावर बढ्दै गइरहेको अवस्थामा राज्यले राहत दिएर यो समस्या समाधान हुँदैन। यस्तै अहिले मलई क्षेत्रमा २७५ घरधुरी रहेको र दंगीशरण गाउँपालिका(१ को फुर्केसल्लीमा पनि यही संख्यामा रहेको हुँदा यो ठाउँको बस्ती नै उठाएर व्यवस्थापन गर्नु पर्ने उनले बताए।
यो वर्षको अहिलेसम्म करिब ३० वटा पशुचौपाया जंगली जनावरले मारेको समेत उनले बताए। उनका अनुसार घरै बाँधेर राखेको र आफ्नै सामुदायिक वनमा चरिचरनगराउन लगेको वेला समेत वनयजन्तुले मार्ने गरेका छन्। मलई क्षेत्रका केही बासिन्दा पनि गाउँ छाडेर नै हिँडेको उनको भनाइ छ। यो क्षेत्र विकट हुँदा पनि यहाँका युवा सुविधाका लागि बजार क्षेत्रमा बस्न थालेका छन्। यस्तै गाउँका धेरै युवा खाडी मुलुक गएका छन्।
उनले गाउँमा अहिले पनि फोनको सेवा नहुँदा फोन गर्न करिब आधा घण्टा र इन्टरनेट चलाउनएक घण्टा हिँडेर जानु पर्ने बाध्यता रहेको समेत बताए।बबई गाउँपालिका-७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता तिलक भण्डारीका अनुसार बबई गाउँपालिकाको वडा नं १ को गंगटेदेखि वडा नं ७ मलई हुँदै दंगीशरण गाउँपालिका- १ को फुर्केसल्ली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ।
पछिल्लो समय मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो क्रममा रहेको भन्दै उनले मध्यवर्ती हुन पूर्व पशुचौपाय पालेर जीविकापार्जन गर्नेका लागि यहाँ बस्ती बसेको बताए। अहिले मध्यवर्ती क्षेत्र परेपछि अहिले यी ठाउँमा वन्यजन्तु बढ्दै जाँदा गाउँबस्तीमा पस्ने र सताउने गरेको छ। उनका अनुसार जंगली बँदेलका कारण मलईका २र३ जना घाइते भएका छन्।
यस्तै उनले यहाँका नागरिक र उनीहरूले लगाएको अन्नबालीको सुरक्षा गर्न १२ लाख रुपैयाँ बराबरको मेस जालीको व्यवस्था गरेको भए पनि त्यो पर्याप्त नभएको समेत बताए। यहाँको बस्तीलाई स्थानान्तरण गर्ने कुरा स्थानीय सरकार भन्दा बाहिरको कुरा भएकाले प्रदेश र संघीय सरकारले कानून बनाएर गरे मात्र सम्भव हुने उनको भनाइ छ। ‘मध्यवर्ती क्षेत्र हुने बेला यहाँको बस्तीलाई स्थानान्तरण गर्न हामीले आवाज उठाएका थियौँ। तर, यहाँका स्थानीयले जग्गाजमिन छाडेर जान मानेका छैनन्’, उनले भने।