Aamsanchar

धरौटी बापतको रकम तानेपछि निमार्ण कम्पनी विच सहमति, उर्लाबारीमा धमाधम कालाेपत्र

Author Image
शनिवार, माघ १२, २०८१

उर्लाबारी-निर्माण कम्पनीले भुक्तानी नपाएपछि लामो समय निर्माण रोकिएको उर्लाबारीको ५.२७६ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुचारु भएको छ । करिब तीन महिना काम रोकिएपछि उर्लाबारी नगरपालिकाले पटक पटक प्रधानमन्त्री र वल्र्ड बैङ्कका प्रतिनिधिसँग छलफल गरेपछि काम अगाडि बढेको हो ।

उर्लाबारी नगरपालिकासँग निर्माण कम्पनीले मोबिलाइजेसन शुल्क भनेर अढाई करोड रुपियाँ लिएको थियो । २०७९ फागुन २१ गते निर्माण सम्झौता भएको सडक भारतको सिपेल इन्फ्रा हैदरावालले ग्लोबल टेन्डरमार्फत निर्माणको जिम्मा लिएको थियो तर सिपेलले काम गरेन ।

उर्लाबारीका स्थानीय निर्माण व्यवसायी अर्जुन तुम्रोकको तुम्रोक कन्स्ट्रक्सनलाई काम गर्न दियो । सिपेलका सञ्चालक प्रवेश खान र नेपाल प्रतिनिधि राजेन्द्र कुमारले स्थानीय निर्माण कम्पनीलाई काम गर्न दिँदा सहज हुने भन्दै सडक निर्माणको जिम्मा तुम्रोक कन्स्ट्रक्सनलाई दिइएको थियो तर तुम्रोकले गरेको कामको भुक्तानी सिपेलले नदिएपछि नगरपालिकाले मुख्य निर्माण कम्पनीको बैङ्क ग्यारेन्टी (धरौटी) बापतको रकम चार करोड ५० लाख रुपियाँ तानेको थियो ।

बैङ्क ग्यारेन्टी तानेपछि मुख्य निर्माण कम्पनी र हाल काम गरिरहेको तुम्रोक कन्स्ट्रक्सनबिच सहमति भएको छ । उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलले भन्नुभयो, “दुवै पक्ष सहमति भएपछि काम तीव्र रूपमा अगाडि बढेको छ । २०८२ को असार मसान्तसम्ममा काम सक्नुपर्ने सम्झौता छ । यही गतिमा काम भए म्याद थप्नु पर्दैन । उहाँले ८० प्रतिशत काम सम्पन्न भएको अवस्थामा म्याद थपसम्बन्धी कुनै कानुनी जटिलता नहुने बताउनुभयो ।

तुम्रोक कन्स्ट्रक्सनले हालसम्म ४५ प्रतिशत काम सकिसकेको छ भने सडकको वित्तीय प्रगति ४३ प्रतिशत भएको छ । तुम्रोक कन्स्ट्रक्सनका सञ्चालक अर्जुन तुम्रोकले बाँकी सम्पूर्ण रकम प्राप्त भएपछि काम सुरु गरेको बताउनुभयो ।

गत वर्षको असोज ८ गते शिलान्यास भएको सडक २०८२ सालको असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–३ को कृष्ण चोकलाई उर्लाबारी–२ को सुनझोडासँग जोड्ने यो सडक नगरकै नमुना सडकका रूपमा लिइएको छ । ३६ करोड १२ लाख ४३ हजार ६१६ रुपियाँमा निर्माण हुने सडकको काम सुरुवाती चरणमा तीव्र रूपले भएको थियो ।

तुम्रोक कन्स्ट्रक्सनले विश्वासका भरमा मुख्य निर्माण कम्पनीसँग कुनै लिखित सम्झौता नगरी काम गरेकाले अहिले समस्या आएको नगरपालिकाको बुझाइ छ । यो सडकको चौडाइ ५.५ मिटरदेखि अधिकतम सात मिटरसम्म रहने छ । सडकमा साइकल लेन दुवैतर्फ १।२ मिटर, नाला र फुटपाथ १.८ मिटर, टिक ड्रेन ०.२५ मिटर हुने छ ।

उर्लाबारीकै गौरवको आयोजनाका रूपमा लिएको यो सडकमा ५० वाटका ५२६ वटा सडक बत्ती २०/२० मिटरमा राखिने छ । १०/१० मिटरमा वृक्षरोपण गरिने छ । जहाँ एक हजार ४७ वटा बिरुवा रोपिने छ । सडकमा पाइप कलभर्ट ४० वटा र बक्स कलभर्ट दुई वटा रहने छन् । ४० स्थानमा जेब्रा क्रस राखिने छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर