

काठमाण्डौ – मनाङको तिमाङ र सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गतको वनमा शुक्रवारदेखि लागेको डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

चीनसँग जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा शुक्रवारदेखि डढेलो लागेको हो ।

लिपिङ खोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत् आयोजनाको टनेल साइडमा शुक्रवार वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भएर आगो सल्किएको प्रारम्भिक अनुमान छ ।

डढेलोले सीमा क्षेत्रको राङबुसा गाउँ जोखिममा परेको छ । हिजो अग्निरेखा बनाएर गाउँमा डढेलो पस्न नदिने प्रयास गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
अस्ति आइतवार सिम्रिक एअरको हेलिकोप्टरबाट पानी ओसारेर डढेलो निभाउने प्रयास गरिएको थियो । भोटेकोशी नदीको पानी ओसारेर खन्याइए पनि डढेलो ननिभेपछि हिजो हेलिकोप्टर फर्किएको थियो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रयास गरिए पनि डढेलो निभाउन नसकिएको बताउनुभएको छ ।
यस्तै मनाङको तिमाङ जङ्गलमा शुक्रवार बेलुकीदेखि शुरू भएको डढेलो निभाउन सकिएको छैन ।
चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले डढेलोसँगै फैलिएको आगो निभाउन जिल्लाका तीनवटै सुरक्षा निकाय परिचालन गरिए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगो निभाउन प्रयास चलिरहेको छ । भिर क्षेत्रमा आगलागी भएकाले अहिलेसम्म बस्तीमा जोखिम नरहेको उहाँको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुक्खायाम भएकाले आगो फैलिएको हो । सुक्खायाममा वनजङ्गलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो फैलिएको छ ।
हिजोसम्म जङ्गलको झण्डै डेढ हेक्टर क्षेत्रफलमा आगलागी भइरहेको भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले क्षति गरेको छ ।
आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्ने गर्छ । २०७७ सालमा मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । त्यसबेला मनाङको एक हजार दुई सय हेक्टर वनजङ्गल नष्ट भएको थियो ।