Aamsanchar

९८ ग्राम सुनजस्तो देखिने धातुसहित एक महिला पक्राउ

Author Image
मङ्गलवार, माघ २२, २०८१

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने धातुसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५, स्वयम्भूकी ५८ वर्षीया मैयाँ तामाङ गुरुङ छिन् ।

लुकाइछिपाइ भन्सार छली गरी ल्याउन लागेको उक्त धातुसहित सोमबार (माघ २१) दिउँसो मैयाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनी थाई एयरको उडानमार्फत थाइल्यान्डको बैंककबाट काठमाडौं आएकी थिइन् । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटनजिकबाट उक्त धातुसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर