



सिरहा – सिरहाको लहानमा गाउँ ब्लक जग्गाको सम्पूर्ण फुकुवा माग गर्दै लहानमा स्थानीयहरूले मंगलबार मालपोत कार्यालय लहानमा धर्ना दिएका छन् । धर्नाले गर्दा कामकाज ठप्प भएको छ ।

स्थानीयसँगै लहान नगरपालिकाका उपमेयर रामचलितर महतो,वडा अध्यक्ष रमेश गौतमलगायत धर्नामा बसेका छन् । लेखापढी व्यवसायीहरूले पनि आन्दोलनमा सहमति जनाएर लेखापढी गर्न छोडेका छन् ।


हक हस्तान्तरण,बिक्री र बैंक तथा वित्तीय संस्थामा राख्न मिल्ने गरी स्रेस्ता प्रयोगको माग उनीहरूले गरेका छन् । केहीदिन अगाडि मालपोत,नापी,इलाका प्रशासन र लहान नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए । माग सम्बोधन नभएपछि मसाल जुलुस,विरोध प्रदर्शन गरेर धर्ना बसेका छन् ।


आइतबार साँझ मसाल जुलुस प्रदर्शन गरेका उनीहरू सोमबार नगरभरिमा विरोध प्रदर्शन गरेका छन् । मालपोत कार्यालय लहानमा धर्ना दिएका छन् । माग पूरा नभएपछि तालाबन्दी गर्ने संघर्ष समितिका संयोजक अरुण केसीले जानकारी गराएका छन् । लहान नगरपालिकाका २४ वटै वडामा गाउँ ब्लक जग्गा संघर्ष समिति गठन गरेका छन् ।
उनीहरूले गाउँ ब्लक जग्गाको अध्यावधिककरण, नापी र लालपुर्जा वितरण गर्नुपर्ने माग राखी आन्दोलित भएका छन् । ‘यहाँका केही वडामा नापी गरि लालपुर्जा वितरण भएको छ । नापी भएको छ । धेरै व्यक्तिहरूको नापी हुन पाएकै छैन,’संयोजक केसीले भने,‘नापी र मालपोत कार्यालयको ढिला सुस्तीले जनताले दुःख पाइरहेको छ । पटकपटक मौखिक र ज्ञापनपत्र बुझाएर अवगत गराए पनि काम तीव्ररुपमा अगाडि बढेको छैन । बाध्य भएर हामी आन्दोलित भएका छौँ ।’कर्मचारीको ढिला सुस्तीलाइ राज्यका माथिल्लो निकायले चासो देखाउनुपर्ने उनले बताए । करिब ७ हजार परिवार गाउँब्लकको जग्गा समस्याले पीडामा परेको उनले जानकारी गराए ।
‘मेरो गाउँमा गाउँ ब्लक जग्गामा घर भएकाहरूलाई ०७२ सालमै लालपुर्जा वितरण भएको छ । तर,अध्यावधिककरण नहुँदा जग्गालाई किनबेच,बैंकमा धितो राखेर केही कार्य गर्न पाएको छैन । अंश वण्डा पनि भइरहेको छैन,’लहान नगरपालिका–१९ का जगदिश साहले भने,‘मालपोत जाँदा नापी कार्यालयबाट कागजात नआएको भन्दा नापी जाँदा मालपोतले ढिलाइ गरेको भन्छ । हामी कर्मचारीको रबैयाले दुःख पाइरहेका छौँ ।’
माग सम्बोधन नभएर हामी आन्दोलन गरिरहने उनले सुनाए । पाएको लालपुर्जा हेर्न र घरमा थन्काउने बाहेक केही गर्न नपाएको उनको भनाइ छ ।
मालपोत र नापीले काम अगाडि बढाउँदा हामी जनप्रतिनिधिहरूले गाउँगाउँमा जाँदा गुनासो गुनासै सुन्नू परेको लहान नगरपालिकाका मेयर महेश चौधरीले सुनाए । ‘यहाँका हजारौं घरपरिवार गाउँब्लक जग्गाको समस्या समाधन नहुँदा पीडामा छ । हामीलाई गुनासो गरेको गरै छ । तर,आफूहरूले पहल गर्दा पनि काम छिटो हुन पाएको छैन,’उनले भने,‘जति चाँडो यो समस्या समाधान भयो त्यति नै चाँडो जनताले राहत पाउनेछ ।’नगरपालिकाबाट हुने कामका लागि हामी सहजीकरण,समन्वय र सहयोग गर्न तयार रहेको उनले सुनाए ।
लहानस्थित मालपोत कार्यालयका सूचना अधिकारीसमेत रहेका नायब सुब्बा शिवकुमार यादवले नापी कार्यालयबाट प्राप्त भएको स्रेस्ता कम्प्युटरमा प्रविष्ट गर्न नपाउँदा समस्या भएको स्वीकार गरेका छन् ।