




पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक वनमा आगो लगाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय रमेश पौडेललाई पक्राउ परेका हुन्।
गत माघ २९ गते मध्यान्ह आर्थरको बगाल थोक स्थित ठूलढुङ्गा सामुदायिक वनमा आगलागी भएको थियो। घटनामा खोजी गर्दा उनीहरूले आगो लगाएको थाहा भएपछि उनीहरूलाई सोही दिन अपराह्न पक्राउ गरिएको हो। दुवै जना अभियुक्तहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय पर्वतमा पठाइएको छ।

डिभिजन वन कार्यालय पर्वतका सूचना अधिकारी तथा वन डढेलो सम्बन्धी फोकल पर्सन रामबहादुर बि।क।ले वन ऐन, २०७६ को दफा ४९ मा रहेको कसुर र सजाय सम्बन्धी व्यवस्था अनुसार उनीहरूमाथि कारबाही हुने बताए। उक्त दफामा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा त्यसलाई कसुर मानिने भनिएको छ।


कसुर ठहर भएमा सोही ऐनको दफा- ५० मा डढेलोले जति क्षति भएको छ त्यसको मूल्याङ्कन गरी बिगो समेत असुल उपर गरी तीन वर्ष कैद, ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको बिकले बताए।
पर्वतमा पोहोर साल ७० वटा आगलागीका घटना भएका थिए भने करिब दुई हजार हेक्टर क्षेत्रफलको वन प्रभावित भएको थियो। धेरै स्थानमा आगलागीका घट्ना भएकाले यस वर्ष सरोकारवाला निकायले आगलागी हुन नदिनका लागि कडाइ गरिरहेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सुरक्षाकर्मीहरूलाई डढेलो नियन्त्रणका लागि मात्रै नभई डढेलो लगाउनेहरूलाई पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने बताए।
जिल्लाका विभिन्न स्थानमा सादा पोसाकका प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारीहरू खटाएर गाउँ गाउँमा निगरानीको काम भइरहेको बताए। अघिल्लो वर्ष जिल्लाका धेरै स्थानमा डढेलो लागेको र नियन्त्रणमा निकै समस्या भएकोले यस वर्ष दोषीहरूलाई पत्ता लगाउने गरी सुरक्षाकर्मीसँग समन्वय भइरहेको उनको भनाइ छ।