Aamsanchar

कोशीमा खोरेत रोगविरुद्ध खोप अभियान सुरु

Author Image
शुक्रवार, फागुन २, २०८१

पाँचथर –कोशी प्रदेशमा चौपायालाई लाग्ने खोरेत रोगविरुद्ध खोप अभियान सुरु भएको छ । स्वस्थ दुध र मासु उत्पादन र बस्तुको निर्यात प्रवर्द्धनमा टेवा पुर्‍याउन बिहीबारदेखि खोरेतविरुद्धको खोप अभियान सुरु गरिएको हो ।

 

चौधवटै जिल्लाका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र र सम्बन्धित पालिकाको सहकार्यमा प्रदेशभर एकैसाथ खोप अभियान सुरु गरिएको हो ।

खोरेतका कारण चौपायाले दिने उत्पादन घट्नुका साथै बजार प्रवर्द्धनमा समेत नकारात्मक प्रभाव परेको भन्दै सरकारले गाई भैंसी र बंगुरलाई खोरेतविरुद्ध खोप दिने अभियान चलाएको भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरका प्रमुख रामनारायण साहले बताए ।

 

खोपका लागि आवश्यक पर्ने भ्याक्सिन सम्बन्धित जिल्लाका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रमार्फत गाउँ र नगरपालिकालाई उपलब्ध गराइएको साहको भनाइ छ ।

खोप अभियानको अनुगमन पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश र सम्बन्धित जिल्लाका भेटेरेनरी अस्पतालले गर्नेछन् । अभियानअन्तर्गत पाँचथर जिल्लाका ७ वटै स्थानीय तहले बिहीबारदेखि पशु चौपायालाई खोप लगाउन सुरु गरेका छन् ।

पाँचथरमा मात्रै करिब ७८ हजार पशुलाई खोप दिइने भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पाँचथरका सूचना अधिकारी निरोजकुमार भट्टराईको भनाइ छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशको तथ्यांक अनुसार प्रदेशभर १४ लाख गाई, ३ लाख ७४ हजार भैंसी र ७ लाख १५ हजार बंगुर छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर