




गुल्मी – गुल्मीमा जेसीबीले पल्टाएको ढुंगाले लागेर आठ वर्षीय बालिकाको मृत्यु भएको छ। इस्मा गाउँपालिका–२ छल्दीटार निवासी बिष्णु कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए।

आइतबार बिहान विद्यालय हिँडेकी कुमाललाई श्रेष्ठ कन्ट्रक्सन प्रालिको लु १ क ४३८६ नम्बर जेसिबीले पल्टाएको ढुंगाले लागेको थियो। छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा ढुंगाले लागेर बालिका गम्भीर घाइते भएकी थिइन्। उनको समयमै उद्धार समेत हुन नसकेको स्थानीयले बताए। गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएको थियो। तर,डाक्टरले बालिकालाई मृत घोषणा गरेका हुन्।


निर्माण व्यवसायीको चरम लापरबाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन्। त्यस सडकमा विगत ३ वर्षदेखि सडक निर्माण तथा स्तरउन्नतिको काम हुँदै आएको छ। सडकमा निर्माणको काम पनि अत्यन्तै सुस्त गतिमा भएको पाइएको छ। श्रेष्ठ कन्ट्रक्सनले सडक विस्तार गर्दा तल कुनै जानकारी नदिई मनलाग्दी समयमा ढुंगा फाल्ने गरेकाले पनि बालिकाको ज्यान गएको स्थानीयले बताएका छन्।


जेसिबी चालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालिकाले घर नजिकैको पालुखा माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएकी छन्। अहिले बालिकाको शव गुल्मी अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।