बिर्तामोड । अर्जुनधारा–७ स्थित मधुजिता क्रसरमा आइतबार साँझ भएको दुर्घटनामा एक युवकको ज्यान गएको छ।

क्रसरमा कार्यरत मोहन किस्कु नामका २४ वर्षीय जेसिभी अपरेटर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्। छुट्टी लिएर आफ्नो घर हल्दीबारी–२ जानका लागि निस्किएका किस्कुलाई क्रसरभित्रै टिपरले ठक्कर दिएको थियो।

मे २ प २१११ नम्बरको मोटरसाइकलमा सवार किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किच्दा गम्भीर चोट लागेको थियो। तत्काल उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।


स्थानीयका अनुसार किस्कु सोमबार घरमा आयोजना हुने पूजामा सहभागी हुन साथीको मोटरसाइकल लिएर हिँडेका थिए। तर, लोड भइरहेको टिपरको चपेटामा परेपछि उनको ज्यान गएको हो।


दुर्घटना सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले भने क्रसर क्षेत्रमा सुरक्षाका मापदण्ड नअपनाइएको गुनासो गरेका छन्। दुई वर्षअघि पनि सोही क्षेत्रमा टिपरको ठक्करबाट एक कर्मचारीको मृत्यु भएको थियो।
लगातार हुने यस्ता घटनाले सुरक्षाका उपाय अपनाउन र मजदुरहरूको जीवनरक्षाका लागि सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीयको माग छ।