




वीरगन्ज – वीरगन्जमा गाँजा र चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक नेपाली महिला र एक भारतीय पुरुष रहेका छन्।

वीरगन्ज–१६ शंकराचार्य प्रवेशद्वारमा प्रहरीले चेकजाँच गर्ने क्रममा बाराको प्रसौनी गाउँपालिका-२ बुनियाद स्थायी घर हाल वीरगन्ज–१६ बसपार्कमा डेरा लिएर बस्दै आएकी ३० वर्षीया आरती यादव चरेस सहित पक्राउ परेकी हुन्। उनलाई ११ किलो ४०० ग्राम चरेससहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले बताए।

यस्तै शंकराचार्य गेटमै चेकजाँचका लागि प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतको पश्चिम बंगाल राज्यको नदिया थाना घर भएका २८ वर्षीय राज अधिकारीलाई चरेस र गाँजासहित पक्राउ गरेको हो। उनको साथबाट गाँजा ६ किलो ३०० ग्राम र चरेस २ किलो १०० ग्राम बरामद भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।


चरेस र गाँजासहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनीहरू विरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।