




पोखरा – बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार साधारण तारेखमा छाड्न आदेश भएको छ ।

दैनिक हाजिरमा उपस्थित हुनेगरी उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएको हो । उनी अहिले जिल्ला प्रहरी कार्यालयकै हिरासतमा छन् ।

आदेशसँगै उनलाई प्रहरीले प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ ।


३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए ।
बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट आएको आगोको झिल्को लागेर विस्फोट भएको थियो ।
हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन उडाउने क्रममा विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।
यो घटना छानबिन गर्नका लागि भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति पनि बनाइएको थियो ।