बिर्तामोड । झापाको बिर्तामोडमा पहिलो पटक “प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता २०८१“ आयोजना हुने भएको छ। आगामी २०८१ चैत २९ र ३० गते हुने प्रतियोगिता फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा सञ्चालन गरिनेछ।


प्रतियोगितामा सातवटै प्रदेशका १५०० भन्दा बढी खेलाडी, १०० अफिसियल निर्णायक तथा अन्य गरी २००० भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिता बिर्तामोडको खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष दिपेन धिमालले आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।

प्रतियोगिता क्योरुगी (फाइट) र पुम्से (तालिम) गरी दुई विधामा सञ्चालन हुनेछ।

क्योरुगी (फाइट) तर्फ ३५ केजीदेखि ५८ केजीसम्मका आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुम्से (तालिम) तर्फ १० वर्षमुनि, १२ वर्षमुनि, र १४ वर्षभन्दा माथि उमेर समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजयी खेलाडीहरूलाई आकर्षक मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ।


उत्कृष्ट खेलाडी (पुरुष/महिला)लाई रु. २०,००० नगद, उत्कृष्ट टिमलाई रु. ५०,००० नगद, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई क्रमशः रु. ३०,००० र रु. २०,००० नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशका खेलाडीहरू बिर्तामोड आउने भएकाले झापाको खेलकुद मात्र नभई पर्यटन, व्यापार र स्थानीय व्यवसायमा समेत टेवा पुग्ने विश्वास लिइएको छ। झापाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नसमेत यो प्रतियोगिता प्रभावकारी हुने आयोजकहरूले जनाएको छ।
प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सहयोगी दाताहरू को सहकार्य रहने बताइएको छ ।
प्रतियोगितालाई गौरवमय रूपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको भन्दै आयोजक समिति अध्यक्ष धिमालले खेलप्रेमी, स्थानीयवासी तथा सञ्चारमाध्यमलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा बक्सिङ सङ्घ केन्द्रिय उपाध्यक्ष भोजराज सिटौला, झापा गोल्डकपका निवर्तमान अध्यक्ष बिनोद बस्नेत, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, सुरेन्द्र धिमाल, सञ्जय राई, प्रदीप श्रेष्ठले बिर्तामोडमा हुने प्रतियोगिता नेपालमा आयोजना भएका खेलहरू मध्ये सबै भन्दा वृहत खेल हुने दावी गरेका छन् । कार्यक्रममा सहजीकरण केशव भट्टराईले गरेका थिए ।