बिर्तामोड। बिर्तामोड नगरपालिका–३ मा अवस्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालय धार्मिक शिक्षासँगै आधुनिक प्रविधियुक्त शिक्षामा पनि अघि बढ्दै गएको छ । इस्लामिक शिक्षा प्रदान गर्दै आएको यो विद्यालयले नेपाल सरकारद्वारा तोकिएका पाठ्यक्रमसमेत समावेश गरी नर्सरीदेखि कक्षा ६ सम्म अध्ययन सञ्चालन गरिरहेको छ।
वि.सं. २०६४ मा झापाको तत्कालीन जिल्ला शिक्षा कार्यालय, भद्रपुरबाट प्राथमिक विद्यालयका रूपमा स्वीकृति पाएपछि यसको यात्रा सुरु भएको थियो। प्रारम्भमा साविक अनारमनी गाविस–९ मा स्थापना भएको यो विद्यालय हाल विर्तामोड–३ मा सञ्चालित छ। वि.सं. २०७९ देखि यस विद्यालयले आधारभूत तह विस्तार गरी कक्षा ६ सम्म अध्यापन गराउने अनुमति प्राप्त गरेको छ। हाल यहाँ मुस्लिम समुदाय र गैर मुसिल्म गरि १५४ विद्यार्थी अध्ययनरत छन्।

धार्मिक शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले उर्दु, अरेबिक र अंग्रेजी भाषामा पठनपाठन गराउँदै आएको छ। प्रविधियुक्त शिक्षामा जोड दिँदै बाल विकास कक्षाहरूमा स्मार्ट बोर्ड र प्रोजेक्टर जडान गरिएको छ। साथै, विद्यालयले टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायात सुविधासमेत उपलब्ध गराएको बिद्यालयकी प्रधानाध्यापक अञ्जुम खातुनले बताईन । यस सामुदायिक बिद्यालयमा ६ जना मुस्लिम र ६ जना अन्य समूदायका महिला शिक्षक तथा कर्मचारी आवद्ध रहेका छन् । विद्यालयमा ६ जना मुस्लिम समुदाय बाहिरका बालबालिकाहरु पनि अध्ययनरत रहेका छन् ।


मदरसाको नाममा ५०७.९० वर्गमिटर जग्गा खरिद गरिसकिएको छ। विद्यार्थीहरूको सहजताका लागि ७ लाख रुपैयाँमा बस खरिद गरिएको छ । प्रदेश सरकारबाट प्राप्त ४० लाख रुपैयाँ सहयोगमा विद्यालय भवनको भुइँतल्ला ढलान सम्पन्न भएको छ । विर्तामोड नगरपालिकाबाट प्राप्त १६ लाख रुपैयाँबाट विद्यालयको पर्खाल निर्माण सम्पन्न गरिएको छ ।

विद्यालय सञ्चालनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा अभिभावकहरूबाट आर्थिक सहयोग प्राप्त हुँदै आएको छ । विद्यालयले आगामी वर्षहरूमा कक्षा १२ सम्म विस्तार गर्ने, छात्रावास निर्माण गर्ने तथा निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।



निर्माणाधिन विद्यालय भवन ।
यसका साथै, विद्यालय व्यवस्थापनले थप ४ कठ्ठा जग्गा खरिद गर्ने लक्ष्य राखेको छ, जसका लागि हालसम्म १ कठ्ठा ११ धुर जग्गा पास भइसकेको छ । बाँकी २ कठ्ठा ९ धुर जग्गा खरिद गर्न ७० लाख रुपैयाँ आवश्यक रहेकोले विद्यालयले देश तथा विदेशमा रहेका शिक्षा प्रेमी समाजसेवीहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ । विद्यालय व्यस्थापनको लागि दाताहरुले ४२ लाख ४३ हजार ८३५ रुपैया सहयोग गरिसकेका छन् । अधुरो बिद्यालय भवन निर्माण सम्न्न गर्न अझै १ कारोड रुपैया लगन सक्ने बिद्यालय व्यवस्थाप समिति अध्यक्ष अफरोज खान पैठानले आजा आयोजित पत्रकार भेटघाटको क्रममा बताए ।
पत्रकार भेटघाट कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका ३ नम्बर वडाका वडाध्यक्ष मदन बुढाथोकीले आफ्नो धारणा राख्ने क्रममा भने । ‘यस धार्मिक बिद्यालयले समाजमा एकताको शंदेश फैलाउने काम गर्दै आएको छ । बिर्तामोड नगरकै एक नमुना विद्यालयको रुपमा स्थापित हुदै गएको धार्मिक विद्यालयलाई वडाको तर्फबाट पनि सहयोग हुदै आएको छ । आगामी वर्षहरुमा पनि सहयोग लाई निरन्तरता दिनै आने छौं ।’