Aamsanchar

इलाममा चिया कारखानामा आगलागी

Author Image
बुधवार, फागुन १४, २०८१

दिनभर चिया कारखानाको मर्मतसम्भार गरेर विश्राम गर्ने तरखरमा थिए, शरद सुब्बा ।

कारखानाको थप भवन निर्माण र मेसिनहरु जडान भइरहेको थियो । अचानक कारखानामा आगोको लप्का देखियो । उनी आत्तिएर कराउन थाले । क्षणभरमै त्यो आगो सल्किएर सर्वत्र फैलियो । उनी जसोतसो बाहिर निस्किए । यतिबेलासम्म पुरै कारखाना आगोमा परिणत भइसकेको थियो ।

उनी निरुपाय थिए, केही गर्न सक्ने स्थिति थिएन । आफ्नो रगत र पसिना लगाएर जग उठाएको त्यो कारखाना फगत उनको कारखाना मात्र थिएन।उनको श्रम, सीप र सपनाको पुञ्ज थियो ।

न थकान, न बिदा । बाह्रैमास, बाह्रै घण्टा उनी त्यही हुन्थे र यन्त्रवत् खटिन्थे । बितेको एक दशकदेखि उनी आफ्नो कर्ममा यसरी लीन भए कि न कहिल्यै घुमफिर गर्न निस्किए, न मनोरञ्जन गर्न । चियाको स्वाद र गुणवत्ता कसरी बढाउने भन्ने बाहेक उनको दायाँबायाँ केही थिएन ।

तर, मंगलबार राति उनी जसै इलाम जसवीरेस्थित कारखानाको काम सिध्याएर आराम गर्ने तयारी गर्दै थिए । ठूलो आवाजसहित केही विष्फोट भएको सुने । कहाँ, के भएको भनी हेर्न नपाउँदै उनको अघिल्तिर आगोको लप्का फैलिइसकेको थियो ।

केही क्षण त आगो निभाउने प्रयास गरे, जुन सम्भव थिएन । उनी दौड्दै बाहिर आए । यतिबेलासम्म कारखानामा भयानक आगो लागिसकेको थियो । उनले आफ्नो सपना खरानी हुँदै गरेको दृश्य हेर्न सकेनन् । बेहोस भए ।

पत्रकार सटेन्द्र जबेगुलगायतले उनलाई तत्कालै अस्पताल पठाए । आगोले उनको अनुहारको एउटा पाटो पोलेको थियो । इलाम अस्पतालले सामान्य उपचारपछि डिस्चार्ज गरेको छ ।

आगलागीबाट कारखानाको भवन, चिया बनाउने सम्पूर्ण मेसिन मात्र जलेको छैन, बिक्रीका लागि राखिएको करोडौंको चिया खरानी भएको छ । यसबाट करिब ७ करोड रुपैयाँ क्षति पुगेको बताइन्छ ।

सरद सुब्बा नेपालकै सबैभन्दा उत्कृष्ट चिया बनाउने कौशल भएका ‘टी मेकर’ हुन् । केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्यालेन्ज २०२४’ मा नेपालका चिया उत्पादकहरूबीचको प्रतिस्पर्धामा उनी नेपालकै ‘सर्वोत्कृष्ट टी मेकर’ घोषित भएका थिए ।

चिया खरिद गर्न मात्र होइन, चिया उत्पादनबारे अध्ययन गर्न पनि स्वदेशी एवं विदेशीहरु जसवीरे चिया प्रशोधन केन्द्र पुग्ने गरेका थिए । त्यहाँ उत्पादित चिया अमेरिका, डेनमार्क, नेदरल्यान्डलगायतमा निर्यात हुँदै आएको थियो । उद्योगबाट बर्सेनि ३० हजार किलोसम्म चिया उत्पादन हुन्थ्यो । स्थानीय किसानहरुका लागि पनि सो कारखाना आयआर्जनको मुख्य केन्द्र थियो ।

 

उद्योगपति सुरज बैद्यको जसवीरेस्थित ‘माई इलाम चिया प्रशोधन कारखाना’बाट चिया बनाउन सुरु गरेका उनले पछि जसवीरेमै अर्को कारखाना सञ्चालन गरे, साझेदारीमा । तर, त्यस कारखानाको स्वमित्वबाट उनलाई अलग गरेपछि आफ्नै बलबुतामा नयाँ चिया प्रशोधन कारखाना निर्माण गरेका थिए ।

र, एक दशकमै उनले सो कारखानालाई नेपालकै उत्कृट चिया उत्पादन गर्ने केन्द्रमा स्थापित गरेका थिए । भएभरका जायजेथा राखेर, जीवनभरको श्रम र समय खर्चिएर निर्माण गरेको कारखाना अब खरानी भएको छ ।

चियाको नयाँ सिजन सुरु हुनै लागेको छ । चैत पहिलो साताबाटै इलामको बगानहरूमा चियाको मुना टुसाउन थाल्छ । यस सिजनको चिया उत्पादन गर्नका लागि उनले कारखाना विस्तारसमेत गर्दै थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर