




ताप्लेजुङ – सेना दिवसको अवसरमा नेपाली सेनाको दुर्गादल गुल्मले चण्डेश्वर धाम सिद्धिडाँडामा सलामी अर्पण गरेको छ । सेनाले हरेक वर्ष यहाँ पुगेर सलामी अर्पण गर्नुका साथै विशेष पूजापाठ गर्दै आएको छ । महाशिवरात्रि तथा २६२औं सेना दिवसको अवसरमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय सेवा दल (एनसिसी) को टोलीले ब्याण्ड बाजासहित मार्चपास गरेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, दुर्गादल गुल्मका गुल्मपति सेनानी विक्रम खड्का, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावल, सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश मर्हजन लगायतको सहभागिता रहेको थियो ।
ताप्लेजुङमा रहेको गुल्मले २०६४ सालदेखि हरेक वर्षको सेना दिवसमा सिद्धिडाँडामा पुगेर सलामी अर्पण गर्दै आएको छ । सदरमुकाम फुङलिङदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको यहाँ शिवरात्रीको दिन विषेश पूजापाठ हुने गरेको छ । चण्डेश्वर धाम संरक्षण समितिले पूजा गर्ने गरेका छन् ।


