




बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइँठेभीरमा बुधबार दिउँसो भएको इको भ्यान दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङतर्फ जाँदै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान सडकबाट कालीगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ।

दुर्घटनामा परि सो भ्यानका चालकसमेत रहेकी अन्नपूर्ण गाउँपालिका–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका प्रमुख प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए।


सख्त घाइते ५० वर्षीया रुपा पुन, ४२ वर्षीया नमिता चोचाङ्गी र ५२ वर्षीया बिष्णुकुमारी बुढाथोकीलाई उद्दार गरेर उपचारका लागि पोखरा अस्पतालमा पठाइएको उनले बताए। नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रुहरू चढेको भ्यान सडकदेखि करिब एक सय ५० मिटर तल कालीगण्डकी किनारमा खसेको छ।


जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेल नेतृत्वको टोलीले घटनास्थल पुगेर दुर्घटनाको बारेमा अनुसन्धान थालेको छ। दुर्घटनाका कारण अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबारदेखि शुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ।
तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थलनजिकै भएको दुर्घटनामा स्थानीय व्यक्तिको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको बताए।