




चन्द्रमाको सतहमा पानी पत्ता लगाउन वैज्ञानिकहरूले एउटा अन्तरिक्षयान पठाउने अन्तिम तयारी गरेका छन्। भविष्यमा पानी भेटिने सम्भावना पत्ता लगाउने उद्देश्यसहित अमेरिकाको फ्लोरिडास्थित नासाको क्यानेडी अन्तरिक्ष केन्द्रबाट भोलि (फेब्रुअरी २७)प्रक्षेपण गरिँदै छ।

यो यान अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले डिजाइन गरेका हुन्। विश्वविद्यालयका फिजिक्स विभागमा इन्स्ट्रुमेन्ट साइन्टिस्ट प्रोफेसर नील बाउल्सले चन्द्रमाको जल चक्रका सम्बन्धमा बुझ्न यो मिसन प्रभावकारी हुने विश्वास व्यक्त गरे। ‘यो भविष्यमा सम्भावित मानवीय खोजका लागि पनि महत्वपूर्ण छ’ उनले भने।

लुनर ट्रेलब्लेजर अन्तरिक्ष यान स्पेस एक्सको फाल्कन नाइट रकेटमा लन्च गरिनेछ। लञ्च विन्डो ४ दिनको हुनेछ। यो यात्रामा इन्टुइटिभ मेसिन, कम्पनीको निजी एथेना चन्द्रयाद र एक एस्टोरोड कम्पनीद्वारा बनाइएको खोजी यान साथमा रहने बताइएको छ।


ट्रेलब्लेजरको इन्जिन सानो भएकाले स्याटेलाइट फाल्कन नाइन रकेटसँग छुट्टिएपछि चन्द्रमासम्म पुग्न सूर्य, चन्द्रमा र पृथ्वीको गुरुत्वाकर्षणको प्रयोग गर्नेछ।
अक्सफोर्डका वैज्ञानिकहरूले ३९ लाख डलर खर्चेर बनाएका यानमा जडित लुनर थर्मल म्यापर (एलटीएम) क्यामेराले चन्द्रमाको सतहमा तापक्रम मापनको काम गर्नेछ।
यस्तैगरी, एचवीएमथ्री नाम दिइएको अर्को उपकरणले पानीको तहले सूर्यको उज्यालोलाई कसरी सोस्छ र प्रतिबिम्बित गर्छ भनी मापन गर्नेछ।
सन् २००९ भारतीय र अमेरिकी यानद्वारा जल मिश्रित खनिजहरूको निसानी पत्ता लगाएपछि वैज्ञानिकहरूले चन्द्रमामा पानी हुनसक्ने अनुमान गरेका थिए। प्रोफेसर बाउल्सले करिब २०० किलो तौल भएको तुलनात्मक रूपमा सानो यान भए पनि यसको वैज्ञानिक लक्ष्य भने निकै महत्वपूर्ण रहेको उल्लेख गरे।
‘चन्द्रमाको ध्रुवमा बरफको रुपमा पानी छ र सतहमा पनि पानीको निकै पातलो तह हुनसक्छ’ उनले भने, ‘लुनर ट्रेलब्लेजर अन्तरिक्ष यानको मिसन यसको मानचित्र बनाउने र यसलाई बुझ्ने हो।’
प्रोफेसर बाउल्स माटोका रसायनका बारेमा जानकारी हासिल गर्नसक्ने यस मिसनले त्यहाँ रहेको पानी प्रयोग गर्न लायक छ या छैन र आवश्यक पर्दा पानी बनाउन सक्ने रासायनिक प्रकृयाहरू छन् र छैनन् भन्ने थाहा पाइने विश्वास गर्छन्।
यसअघि चीनका वैज्ञानिकहरूले चन्द्रमाको माटोबाट ठूलो मात्रामा पानी बनाउने उपाय पत्ता लगाइएको दाबी गरेका थिए। सन् २०२० मा चन्द्रमामा गएको यान चाङ्गाई–फाइभ मिशनले उक्त माटो लिएर आएको थियो।
त्यसबेला ४४ वर्षमा पहिलोपटक चन्द्रमाबाट त्यस्तो नमुना ल्याइएको थियो। चिनियाँ एकेडमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूले उक्त माटोमा हाइड्रोजनको ठूलो मात्रा हुने पत्ता लगाएका थिए।
चिनियाँ वैज्ञानिकहरूका अनुसार, चन्द्रमाको एक टन माटोबाट लगभग ५१–७६ किलोग्राम पानी बनाउन सक्ने दाबी गरेका थिए।
चीनको अन्तरिक्ष एजेन्सीले सन् २०३५ सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा आधारभूत स्टेसन बनाउने तय गरेको छ र २०४५ सम्म चन्द्रमाको परिक्रमा गर्ने अन्तरिक्ष स्टेसन जोड्ने लक्ष्य लिएको छ।