Aamsanchar

अर्जुनधारा जलेश्वरधामले राक्षसी विवाहलाई निरुत्साहित गर्न २५ जोडीको निःशुल्क ब्रम्ह विवाह गराइदिने 

Author Image
बुधवार, फागुन १४, २०८१

बिर्तामोड । पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वरधाम ले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह आयोजना गर्ने भएको छ। धामको आयोजनामा विश्व हिन्दू परिषद नेपाल को समन्वयमा आगामी वैशाख ३ गते न्यूनतम २५ जोडी वरवधुको विधिपूर्वक ब्रम्ह विवाह गराइने भएको हो ।

धर्म–संस्कृतिको संरक्षण र वैदिक विवाहको प्रोत्साहन
धार्मिक र सांस्कृतिक परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले धामले सामूहिक विवाहको आयोजना गर्न लागेको हो। हिन्दू धर्मशास्त्रअनुसार विवाह १८ प्रकारका हुन्छन्, जसमा ब्रह्म विवाह सर्वश्रेष्ठ मानिन्छ। तर, हाल समाजमा आर्थिक अभाव वा अन्य परिस्थितिका कारण राक्षसी विवाह (भागी विवाह) को प्रथा बढ्दै गएको छ। त्यसैले धार्मिक रीति–नीति अनुरूप विवाह सम्पन्न गराउन यो पहल गरिएको धामका प्रमुख अर्चक अग्नीप्रसाद सिग्देलले बताए।  सिग्देलले थप्दै भने ‘वैदिक शास्त्रमा भागी विवाहलाई राक्षसी विवाह भनेर परिभाषित गरेको छ । ओमकार परिवार किरात सभ्यतामा भने भागी विवाह रीति को रुपमा रहेको छ । भागेर गए पनि पछि अनुकुल समयमा विधिपूर्वक विवाह गर्ने परम्परा रहँदै आएको छ ।’

ब्रह्म विवाह विधिबाट अलग–अलग मण्डपमा विवाह
यो विवाहलाई सामूहिक भनिए पनि २५ वटा जोडीका लागि २५ वटा अलग–अलग मण्डप तयार गरिनेछ। साथै, २५ जना पुरोहितहरूले वैदिक मन्त्र उच्चारण गर्दै विवाह सम्पन्न गराउनेछन्। यदि वरवधु ओमकार परिवारका विभिन्न जातीय संस्कारमा रहेका छन् भने आफ्नै गुरुहरू ल्याएर विवाह गराउन पनि सक्नेछन्।

सामूहिक विवाहको विशेषताहरू
१, विवाहका लागि अलग–अलग मण्डप र पुरोहितको व्यवस्था।
२, वरवधुको परिवारबाट १०–१० जना सदस्यको उपस्थितिको अनुमति।
३, विवाहका सम्पूर्ण खर्च धामले व्यहोर्ने।
४, भव्य, सभ्य, पारिवारिक वातावरणमा विवाह सम्पन्न गरिने।
५, अनुमानित ३०–३५ लाख रुपैयाँ खर्च।

योग्यता र आवश्यक कागजातहरू
१, सामूहिक विवाहमा सहभागी हुन इच्छुक वरवधुले निम्न योग्यताहरू पूरा गर्नुपर्नेछः
२, उमेर पुगेको प्रमाण (नागरिकता वा जन्मदर्ता प्रमाणपत्र)
३, वरवधुका अभिभावकको अनुमति तथा उपस्थित
४, सम्बन्धित वडाको सिफारिस पत्र
५,  हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (२ प्रति)
६, विवाहमा उपस्थित हुने बेला नागरिकताको सक्कल प्रति अनिवार्य

अन्य व्यवस्था र नियमहरू
१,  प्रत्येक जोडीका लागि अलग–अलग पण्डितको व्यवस्था गरिएको भए पनि इच्छुक जोडीले आफ्नै पण्डित ल्याउन सक्नेछन्।
२, वरवधुलाई उपहार संस्थाले दिने भए तापनि इच्छुक अभिभावक वा अन्य व्यक्तिले थप उपहार दिन सक्नेछन्।
३, विवाह स्थलसम्मको यातायात खर्च जोडी स्वयंले बेहोर्नुपर्नेछ।
४, विवाह भोज शुद्ध शाकाहारी हुनेछ।

पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरूको उपस्थिति
अर्जुनधारा जलेश्वरधाम परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दू परिषद नेपाल कोशी प्रदेश महिला विभाग प्रमुख सितादेवी ढुङ्गाना, धामका कोषाध्यक्ष मनोज जोशी लगायतको उपस्थिति थियो। सम्मेलनको सहजकर्ता महासचिव शिवलाल खतिवडा रहेका थिए।

धार्मिक र सांस्कृतिक धरोहरको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिने यो सामूहिक विवाहले वैदिक परम्परालाई बलियो बनाउँदै आर्थिक अभावका कारण विवाह गर्न नसकेका जोडीहरूलाई वैवाहिक बन्धनमा बाँधिन सहयोग गर्ने धामाका अध्यक्ष नविनकुमार गट्टानीले विश्वास लिएका छन् ।

थप जानकारीको लागि धामको सम्पर्क नम्बर ९८०२०७११२९/९८४२६२९४७७

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर