Aamsanchar

धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

Author Image
बिहिवार, फागुन १५, २०८१

काभ्रेपलाञ्चोक – सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेमा निर्माणाधीन धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गरेको छ ।

आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको अस्ति मङ्गलवार बसेको बैठकले यो सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो ।

जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले वि।सं। २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाई सक्नेगरी २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँमा ठेक्का लिएको थियो ।

ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि यो सडक खण्डको निर्माणको काम ठप्पप्राय नै थियो ।

सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो ।

सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लोपटक गएको माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो ।

कार्यालयका प्रमुख सुमन योगेशका अनुसार अहिलेसम्म यो सडकको २५ प्रतिशत वित्तीय प्रगति भएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडक खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो ।

अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर