विर्तामोड । नेपाल पर्यटन बोर्डले पूर्वी नेपाललाई स्वास्थ्य तथा कल्याण पर्यटनको केन्द्रका रूपमा विकास गर्न पहल अघि बढाएको छ। यस अन्तर्गत, बिर्तामोड नगरपालिकासँग सहकार्य गर्दै स्वास्थ्य पर्यटन प्रवर्द्धन कार्यक्रमलाई अझ विस्तार गर्ने तयारी भइरहेको छ।

नेपालको स्वास्थ्य सेवा प्रणालीलाई प्रवर्द्धन गर्दै सीमापारी भारतीय शहरहरूबाट आउने मेडिकल पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो। झापामा अत्याधुनिक अस्पताल, विशेषज्ञ सेवा, प्राकृतिक चिकित्सा, आयुर्वेद, योग तथा वेलनेस सेन्टरहरू रहेका कारण स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि झापा तथा पूर्वी नेपाल आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ।

नेपाल पर्यटन बोर्डका सूर्य थपलियाको अनुसार स्वास्थ्य पर्यटन प्रवर्द्धन कार्यक्रमको सफलतापछि, बिर्तामोडमा थप सुविधाहरू विस्तार गर्ने योजना बनाइएको छ। यस पहलले न केवल स्वास्थ्य सेवालाई सुधार गर्नेछ, तर स्थानीय अर्थतन्त्रलाई पनि मजबुत बन्ने छ ।


आज बिर्तामोड नगरपालिकाका प्रतिनिधि, ट्राभल्स व्यवसायी, होटल व्यवसायी, अस्पतालका प्रतिनिधिहरू सँग अन्तरक्रिया गरिएको छ । आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिने अन्तरक्रियाको निष्कर्ष रहेको छ । भारतीय सीमावर्ती क्षेत्रका नागरिकहरूलाई लक्षित गरी विशेष मेडिकल प्याकेजहरू उपलब्ध गराइने बिर्तामोडमा स्वास्थ्य प्रतिनिधित्वले प्रतिवद्धता जनाएका छन् । जसले नेपालको स्वास्थ्य पर्यटनलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।

