



मेची रंगशालामा आजको खेलको विजेता झापाली टोली नै रहने निश्चित छ, किनकि प्रतियोगिताको इतिहासमै पहिलोपटक दुई स्थानीय टोली उपाधिका लागि भिड्दैछन्।

दुवै टोलीका खेलाडी तथा प्रशिक्षक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छन्। प्रतियोगिता आयोजक क्लब भद्रपुर ब्लेजर्सका अध्यक्ष दिपेश ढकालले दुई झापाली टोलीबीचको फाइनलले इतिहास रच्ने बताए। उनका अनुसार, ‘विदेशी तथा ‘ए’ डिभिजन क्लबहरूलाई पराजित गर्दै यी दुई टोली फाइनलमा पुगेका हुन्, जसले सम्पूर्ण झापालीलाई गर्व गर्नलायक उपलब्धि दिलाएको छ।’


झापा ११ अहिलेसम्म गृह जिल्लामा गोल्डकप उपाधि जित्न असफल रहँदै आएको छ। पाँचपटक फाइनलसम्म पुगे पनि उपाधि हात पार्न नसकेको झापा ११ यसपटक खडेरी तोड्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। उता, भद्रपुर ब्लेजर्स पहिलोपटक उपाधि उचाल्ने दाउमा छ।


झापा ११ का प्रशिक्षक अंगुरकुमार खड्गीले आफ्नो टोली उपाधि जित्ने योजनासहित मैदानमा उत्रने बताए। ‘दर्शकलाई उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘खेलाडी मानसिक रूपमा तयार छन्, रणनीति पनि खेलको परिस्थिति अनुसार तय गर्नेछौं।’ झापा ११ ले टोलीमा एरोन थापा, एलोन थापा, समिर तामाङ र रोहन कार्कीलाई समावेश गरेको छ, जसले टोलीलाई थप बलियो बनाएको छ।
भद्रपुर ब्लेजर्सका कप्तान आशिष चापागाईंका अनुसार, उनको टोली प्रतिस्पर्धात्मक खेल खेल्नेछ। ‘हामीसँग व्यवसायिक अनुभव प्राप्त खेलाडी छन्, जसले संगठित खेल खेल्न सक्नेछन्,’ उनले भने। सहायक प्रशिक्षक अर्जुन राईले घरेलु दर्शकको साथ भद्रपुरको लागि फाइदाजनक हुने विश्वास व्यक्त गरे।
फाइनलसम्मको यात्रा रोमाञ्चक रह्यो। भद्रपुर ब्लेजर्सले दार्जिलिङ पुलिस, नेपाल पुलिस क्लब र बंगलादेशको काउरन बजार प्रगति संघलाई पराजित गर्दै उपाधिनजिक पुगेको हो भने झापा ११ ले मछिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड र भुटानको डागा युनाइटेड एफसीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।
प्रतियोगिताको विजेताले नगद १३ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ लाख रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ। प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडीले ‘प्लेयर अफ द टुर्नामेन्ट’ उपाधिसहित नगद १ लाख ५ हजार प्राप्त गर्नेछ। उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले २१ हजार रुपैयाँ पाउनेछ।
अब, कुन टोलीले उपाधि उचाल्ने हो, त्यसको निर्णय आजको रोमाञ्चक भिडन्तपछि हुनेछ।