काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा जिल्ला सभापति उमेश खरेलमाथि आर्थिक अपारदर्शिता र नैतिक चरित्रसम्बन्धी गम्भीर आरोप लागेका छन्। पार्टीकै जिल्ला समिति बैठकको सर्वसम्मत निर्णयअनुसार कारबाहीका लागि केन्द्रीय नेतृत्वलाई सिफारिस गरिसकिएको छ।


आर्थिक अनियमितताको आरोप
२०८१ पुस ७ गते बिर्तामोडस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित जिल्ला भेलाका क्रममा हल भाडा २२ हजार रुपैयाँ रहेको भन्दै खरेलले पार्टी पदाधिकारीलाई जानकारी गराएका थिए। सोही आधारमा २२ हजार भुक्तानी भए पनि वास्तविक बिल १२ हजार रुपैयाँ मात्र रहेको भेटिएको छ। बाँकी १० हजार खरेलले व्यक्तिगत रूपमा राखेको खुलासा भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो।

यसअघि पनि २०८० को निर्वाचनका क्रममा झापाका ९ उम्मेदवारबाट २०–२० हजारका दरले जम्मा १ लाख ८० हजार रुपैयाँ संकलन भएको थियो। तर, सो रकमको कुनै स्पष्ट हिसाबकिताब सार्वजनिक नगरिएको भन्दै खरेलमाथि शंका व्यक्त गरिएको छ।


नैतिक आचरणसम्बन्धी उजुरी
खरेलमाथि आर्थिक आरोप मात्र नभई नैतिक चरित्रसम्बन्धी गम्भीर प्रश्नहरू पनि उठेका छन्। रास्वपा जिल्ला समितिकी एक महिला सदस्यले खरेलले सामाजिक सञ्जालमार्फत बारम्बार आफूलाई ‘गर्लफ्रेन्ड बन्न दबाब दिएको’ उजुरीमा उल्लेख गरेकी छन्। उक्त उजुरी कारबाहीका लागि केन्द्रमा पठाइएको छ।


पार्टीको निर्णय र सम्भावित कानुनी कारबाही
२०८१ फागुन ११ गते बसेको जिल्ला समितिको बैठकले खरेललाई अनुशासन उल्लंघनको आरोप लगाउँदै आवश्यक कारबाहीको सिफारिस गरेको छ। रास्वपा केन्द्रीय कार्यसमितिले अब अनुसन्धान गरी निर्णय लिनेछ। यदि पार्टीभित्रै छानबिन गरी कारबाही नभए, उजुरीकर्ता महिलाले प्रहरी वा मिडियामा जाने चेतावनी दिएकी छिन्।
कानुनी पक्ष
१. आर्थिक अनियमितता
यदि खरेलले पार्टीको रकम दुरुपयोग वा हिनामिना गरेको पुष्टि भए, संहिताको भ्रष्टाचारसम्बन्धी कानुनअन्तर्गत कारबाही हुन सक्छ।
नेपालको आपराधिक संहिता, २०७४ अनुसार ठगी वा विश्वासघातसम्बन्धी दफा लागू हुन सक्छ।
यौन दुव्र्यवहारसम्बन्धी आरोप
यदि उजुरीकर्ताले प्रमाणित रूपमा खरेलको व्यवहारलाई यौन दुव्र्यवहार (Sexual Harassment) अन्तर्गत वर्गीकरण गरेमा, महिला हिंसा निवारण ऐन, २०६५ अनुसार कानुनी कारबाही हुन सक्छ।
पीडित महिलाले प्रहरी वा अदालतमा उजुरी गरेमा अनुसन्धान सुरु भई जेल सजाय वा जरिवाना समेत हुन सक्ने सम्भावना रहन्छ।
पार्टीले आन्तरिक अनुशासनका आधारमा निर्णय गरे पनि यदि पीडित वा अन्य पार्टी सदस्यहरूले कानुनी प्रक्रियामा जान चाहेमा, खरेलमाथि कानुनी मुद्दा लाग्न सक्छ। अब पार्टीले अनुसन्धान कसरी अघि बढाउँछ भन्ने हेर्न बाँकी छ।
हिजोको कुरा अहिले कारबाहीको विषय हुन सक्दैन : खरेल
जिल्ला सभापति खरेलले भने आफूमाथिको आरोपको बारेमा थाहा नभएको बताउने गरेका छन्।
‘मैले हिजो पनि तपाईँसँग कुरा गर्दा यो विषय मसम्म आई नपुगेको भनेर भनेकै हो,’ उनले बिहीबार नेपालखबरसँग भने, ‘अहिलेसम्म पनि यो विषय मसम्म आइपुगेको छैन। केन्द्रले जानकारी गराएको छैन।’
खरेलले हिजोको आर्थिक कुरालाई अहिले ल्याएर कारबाहीको विषय बनाइनुको अर्थ नहुने तर्क पनि गरे।
होटल खर्चको विषयमा प्रतिक्रिया दिँदै खरेलले भने, ‘हलले जति पैसा लिएको हो, मैले त्यति नै पैसा दिएको हो। यिनीहरूले मलाई ५–१० हजार खर्चको आरोप लगाउँछन्। मैले लाखौँ खर्च गरेको हिसाब गर्दैनन्। यो ५–७ हजारको कुराले मैले के गर्नु छ र ?’
पार्टीको पछिल्लो ३ वर्षमा संगठन निर्माण देखि नै निःस्वार्थ रूपमा पार्टीमा लागेको उनको जिकिर छ।
‘म स्वार्थरहित ढंगले पार्टीमा लागेको हो। न कुनै सांसद हुने रहर बोकेँ, न अरू नै केही गरेँ। सधैँ अरूलाई नै नेता बनाउँदै हिँडेँ,’ उनले भने, ‘मैले सोझो हिसाबले सोचेँ। चुनावको बेला पैसा उठ्यो, पैसा उठाएर मैले गोजीमा हालेको हैन। खर्च भएको छ।’
झापामा संगठन भर्खर बनेको र संगठनमा मान्छेहरू नै नभएको बेलाको कुरा अहिले उठाउनु युक्तिसंगत नहुने उनको तर्क छ।