Aamsanchar

कनकाई नगरको सवारी दुर्घटना न्यूनिकरण प्रयास

Author Image
आइतवार, फागुन १८, २०८१

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष पहल गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक शिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ।

नगरपालिकाको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको समन्वयमा आज (आइतवार) कनकाई नगर सभाहलमा एकदिने तालिम सम्पन्न भएको हो। उक्त तालिममा नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयका ४१ जना शिक्षकहरूको सहभागिता रहेको थियो।

नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयलाई समन्वय गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको हो। प्रशिक्षणका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले सवारी सम्बन्धी नियम, ऐन, दुर्घटना न्यूनिकरणका उपाय तथा ट्राफिक सचेतना सम्बन्धी जानकारी गराएका थिए।

उनका अनुसार झापामा वार्षिक रूपमा औसत ११० जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन्। चालु आर्थिक वर्षको सात महिनामा मात्रै ६१ जनाको मृत्यु भइसकेको छ भने मंसिर महिनामा मात्र १४ जनाले ज्यान गुमाएका छन्। नेपालभर वार्षिक २५०० देखि ३००० जनाले सवारी दुर्घटनामा ज्यान गुमाउने तथा ८ देखि १० हजार घाइते हुने तथ्यांक प्रस्तुत गर्दै उनले बढी दुर्घटना दुई पांग्रे सवारीसाधन हुने गरेको बताए।

नेपाल सरकारले सन् २०३० सम्म सवारी दुर्घटना ५० प्रतिशतले कम गर्ने र २०५० सम्म शून्यमा झार्ने लक्ष्य राखेको जानकारी पनि तालिममा गराइएको थियो।

कार्यक्रम कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत मन्तव्य दिएका थिए भने नगरकी कर्मचारी जमुना कटुवालले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

तालिममा सहभागी शिक्षकहरूलाई नगर प्रमुख पोखरेल र प्रशिक्षक पौडेलले प्रमाणपत्र वितरण गरेका थिए। सवारी दुर्घटना न्यूनीकरणका लागि यस प्रकारका सचेतना कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)