Aamsanchar

बिर्तामोड नगरपालिकामा अनियमितता र भ्रष्टाचार भएको भन्दै छानविन गर्न माग

Author Image
सोमवार, फागुन १९, २०८१

बिर्तामोड ।  बिर्तामोड नगरपालिकामा देखिएको अनियमितता, भ्रष्टाचार र विकृतिको विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

राप्रपा नगर अध्यक्ष लक्ष्मी गौतम नेतृत्वको टोलीले कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई २८ बुँदे मागसहित ज्ञापनपत्र हस्तान्तरण गरेको हो। उक्त ज्ञापनपत्रमा कृषि बजारमा देखिएको विकृति, शिक्षा क्षेत्रमा बढ्दो समस्या, जग्गा अतिक्रमण तथा विकास निर्माणका कार्यमा पारदर्शिता नहुँदा उत्पन्न भएको अन्योलता जस्ता विषय समेटिएका छन्।

अनुगमन समितिमा सुधारको माग

राप्रपाले विकास निर्माणका कार्यहरू सम्पन्न भइरहँदा अनुगमन समितिले कागजीरुपमा मात्र अनुगमन गर्ने गरेको आरोप लगाएको छ। समितिलाई प्रभावकारी बनाउन र पारदर्शिता सुनिश्चित गर्न नियमित अनुगमनको व्यवस्था मिलाउन माग गरिएको छ। साथै, उपभोक्ता समिति निर्माणमा एकदलीय प्रभाव हटाई सर्वदलीय सहभागिताको सुनिश्चितता गर्न पनि माग गरिएको छ।

कृषि थोक बजारमा बेथिति

कृषकको लागि भनेर स्थापना गरिएको कृषि थोक बजार बिचौलियाको नियन्त्रणमा रहेको भन्दै राप्रपाले त्यसमा सुधारको माग गरेको छ। होलसेल र खुद्रा व्यापारीबीच असमझदारी बढिरहेको तथा बजार व्यवस्थापन समितिले कृषकहरूका हितविपरीत काम गरिरहेको आरोप लगाइएको छ।

कृषि बजार क्षेत्रमा रहेको दुई करोड अठार लाख रुपैयाँ लागतमा निर्माण भएको चिस्यान केन्द्रमा भ्रष्टाचार भएको दाबी गर्दै त्यसको छानबिन गर्न आग्रह गरिएको छ। यस्तै, ६५ लाख रुपैयाँ लागतमा बनेको सार्वजनिक शौचालयमा पनि अनियमितता भएको भन्दै छानबिनको माग गरिएको छ।

सरकारी जग्गा अतिक्रमणबारे गम्भीर चिन्ता

नगरपालिकाभित्र सार्वजनिक जग्गा भूमाफियाले अतिक्रमण गरेको विषयलाई राप्रपाले गम्भीर रूपमा उठाएको छ। बिर्तामोड–६ स्थित भद्रपुर माविको जग्गामा अनधिकृत रूपमा बसोबास गरिएको तथा किनबेच गराइएको आरोप लगाइएको छ। राप्रपाले ती जग्गाहरूको नापजाँच गरी भूमाफियाविरुद्ध कारबाही गर्न माग गरेको छ।

सहकारी संस्थाहरूमा अनियमितता

बिर्तामोडका विभिन्न सहकारी संस्थाहरूमा बचतकर्ताको निक्षेप फसिरहेको भन्दै राप्रपाले पीडितहरूको पक्षमा न्याय दिलाउन माग गरेको छ। सहकारीहरूले राजनीतिक संरक्षण पाउँदै आएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिएको छ।

मजदुरको हकहितको रक्षा गरिनुपर्ने माग

नगरपालिकामा भौतिक संरचना निर्माण गर्दा विदेशी मजदुरलाई प्राथमिकता दिइएको तथा स्थानीय श्रमिकहरूलाई विस्थापित गरिएको भन्दै राप्रपाले आपत्ति जनाएको छ। सूचीकृत मजदुरहरूको निःशुल्क स्वास्थ्य बीमा नगर सरकारले गरिदिनुपर्ने माग पनि उठाइएको छ।

जनता आवास तथा गिटी-बालुवामा अनियमितता

राप्रपाले जनता आवास निर्माणमा अनियमितता भएको दाबी गर्दै सर्वदलीय संयन्त्र निर्माण गरी अनुगमन गर्न माग गरेको छ। नगर क्षेत्रभित्र ग्राभेल, गिटी र बालुवा लगाउन राजनीतिक प्रभावका कारण अनियमितता भइरहेको आरोप लगाइएको छ।

खानेपानी र शिक्षामा अनियमितताको आरोप

बिर्तामोड–९ मा ६५ लाख रुपैयाँ लागतमा बनेको खानेपानी ट्याङ्की अपुरो र जीर्ण अवस्थामा रहेको भन्दै छानबिनको माग गरिएको छ। यस्तै, बिर्तामोड–७ को खानेपानी व्यवस्थापन पनि फितलो रहेको भन्दै प्रभावकारी अनुगमनको माग गरिएको छ।

शिक्षा क्षेत्रमा पनि विकृति रहेको भन्दै राप्रपाले महेन्द्ररत्न माविको विद्यालय व्यवस्थापन समिति अवैधानिक रूपमा गठन गरिएको आरोप लगाएको छ। विद्यालयहरूमा निःशुल्क शिक्षा सुनिश्चित गर्न तथा निजी विद्यालयहरूले दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिमा पारदर्शिता अपनाउन माग गरिएको छ।

अन्य मागहरू

राप्रपाले करार कर्मचारीको पारदर्शिता, लागूऔषध नियन्त्रण, वैदेशिक रोजगार परामर्श केन्द्रको स्थापना, ध्वनि प्रदूषण नियन्त्रण, नगरपालिका अस्पतालको सेवा प्रवाह सुधार, तथा शिवालय मन्दिर क्षेत्रको संरक्षणलगायत विषयमा ध्यानाकर्षण गराएको छ।

राप्रपाले आफ्ना मागहरू सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनीसमेत दिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर