Aamsanchar

सप्तकोशीमा बाघको आक्रमणमा परी तीन जना घाइते

Author Image
सोमवार, फागुन १९, २०८१

राजविराज – सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकास्थित फत्तेपुर बजार क्षेत्रमा सोमबार बाघको आक्रमणमा परी स्थानीय तीन जना घाइते भएका छन् ।
सप्तकोशी नगरपालिका-१ रक्तमाला टोल र खोरिया टोल नजिकै सोमबार बिहान बाघले आक्रमण गरी तीन जनालाई घाइते बनाएको प्रहरी चौकी फत्तेपुरले जानकारी दिएको छ ।

बाघको आक्रमण परी स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री र रिजना गोसाइ घाइते भएको प्रहरी चौकी फत्तेपुरका प्रहरी नायव निरीक्षक पनालाल चौधरीले बताए। घाइतेहरूको पाखुरा, काखी मुनि, आँखाको डिलमा बाघले पञ्जाले कोतरेको छ । घाइतेहरूको स्थानीय मोडेल क्लिनिक फत्तेपुरमा उपचार पश्चात थप उपचारको लागि बिष्ट र गोसाइलाई विराटनगर लगिएको छ ।

बाघ खोरिया टोलस्थित परालको टाल मुनि बसिरहेको र कोशी टप्पु वन्य जन्तु आरक्ष कार्यालयलाई जानकारी गराएको प्रहरी नायव निरीक्षक चौधरीले बताए । आरक्षबाट नेपाली सेनासहित प्राविधिक टोली र वन कार्यालयका कर्मचारीहरू फत्तेपुर आइपुगेको स्थानीय पारस दाहालले बताए ।
बाघ बस्तीमा प्रवेश गरेपछि फत्तेपुर बजारबासी त्रसित बनेका छन् । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बजार क्षेत्रको अनुगमन गरी बाघ नियन्त्रणमा लिएर सम्भावित क्षतीलाई रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बाघ नियन्त्रणको प्रयासमा खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

कोशी टप्पु वन्य जन्तु आरक्षको जंगली जनावर र स्थानीयबीच दशकौदेखि द्वन्द्व हुँदै आएको छ । हात्ती र अर्नाको आक्रमणको शिकारमा जनधनको क्षति बेहोरिरहेको उक्त क्षेत्रका बासिन्दामाथि यसपटक बाघले नै आक्रमण गरेको भन्दै दाहालले स्थानीय आरक्ष प्रशासन र राज्यले समाधानको विशेष पहल गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर