



रौतहट – रौतहटमा अवैध रूपमा सञ्चालित अस्पताल सञ्चालक पक्राउ परेका छन्। चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालक राजनकुमार साहलाई प्रहरीले आज बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।

गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्ड विपरीत सञ्चालन भएको र दर्तासमेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए।


मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने पत्र थमाएको भए पनि सो अस्पतालका सञ्चालकले अस्पताल खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको राईले बताए ।


अस्पताल नखोल्न पटकपटक सम्झाउँदा समेत साहले अटेर गरी अस्पताल खोलेपछि सोमबार बिहान उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको राईले बताए।
चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल , पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले पत्र दिएका थिए।
सिभिल अस्पताल तथा रिसर्च सेन्टरले सामान्य बिरामी भएर जाँदा पनि अनावश्यक रूपमा जाँच गराई विभिन्न शीर्षकमा लुट्ने गरेको व्यापक जनगुनासो छ। सो अस्पतालले आइसियु तथा अप्रेशन सञ्चालन गरे पनि त्यसको आधारभूत मापदण्ड पनि पूरा गरेको छैन।
शनिबार मुख्यमन्त्री सिंहलाई एक पीडितले अस्पतालको बिल देखाउँदै आफूमाथि अन्याय भएको गुनासो गरेका थिए। सिंहले हेर्दै सुविधा केही पनि नभएको तर काठमाडौंको उच्च सुविधायुक्त अस्पतालको शुल्क लिएको भन्दै आश्चर्य व्यक्त गरेका थिए।
सो बिलमा मापदण्ड विपरीत सञ्चालन गरिरहेको आइसियु बेडको प्रतिदिनको ४५ सय जोडिएको छ। सवारी दुर्घटनामा परेर सो अस्पतालमा पुगेका उक्त बिरामीको अप्रेसन शुल्क ६५ हजार, एनेस्थेसिया शुल्क २० हजार, इमर्जेन्सी म्यानेजमेन्ट शुल्क २० हजार, स्टीलको ५५ हजार, अप्रेसन थिएटर सामग्रीको शुल्क २० हजार, मोनिटर शुल्क ९ हजार, उपचारात्मक शल्यक्रिया शुल्क १० हजार, ड्रेसिङ शुल्क ३ हजार, अक्सिजन शुल्क ६ हजार लिएर ठगी गरेको सेवाग्राही बताउँछन्।