Aamsanchar

बिर्तामोड बजारका कालोपत्रे सडक शीघ्र क्षतिको समस्या, अतिथि सदन मार्गमा फेरी कालोपत्र गरिदै

Author Image
सोमवार, फागुन १९, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका विशेष गरी सहरी क्षेत्रमा बनाइने कालोपत्रे सडक लामो समय टिक्न नसक्दा ठूलो मात्रामा आर्थिक क्षति भइरहेको छ। नगरपालिकाले पटक–पटक विभिन्न स्रोत परिचालन गरेर बजेट व्यवस्थापन गरी सडक निर्माण गर्दै आएको छ। तर, अधिकांश सडक दुई वर्ष नपुग्दै पुनः खाल्डाखुल्डी पर्ने समस्याले नागरिकलाई सास्ती भोग्न बाध्य बनाएको छ। यस्तो स्थितिमा सडक छेउमा बसोबास गर्ने नागरिक स्वयं जिम्मेवार नबनेसम्म समस्या समाधान सम्भव देखिँदैन।

सडकको दिगो संरक्षण नहुनुमा विभिन्न कारणहरू छन्। तर, मुख्य कारण भनेकै स्थानीय बासिन्दाले आफ्ना घरको छतको पानी सिधै सडकमा खसाल्ने प्रवृत्ति हो। नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै यस्तो कार्य नगर्न अनुरोध गरे पनि नागरिकले अटेर गर्दै आएका छन्। छतबाट खस्ने पानीको निरन्तर प्रवाहले सडकको सतह कमजोर बनाउने र कालोपत्रे चाँडै बिग्रने समस्या देखिएको छ।

समस्या समाधानका लागि नगरपालिकाले मात्र पहल गर्नु पर्याप्त छैन। स्थानीयवासी स्वयं सचेत र जिम्मेवार बन्न जरुरी छ।

यसका लागि निम्न उपायहरू अवलम्बन गर्न आवश्यक छः

छतको पानी सडकमा खसाल्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ। वर्षा वा अन्य समयमा छतबाट बग्ने पानीलाई पुनः प्रयोग गर्न वर्षा जल संकलन प्रणाली जस्ता प्रविधि अपनाउनुपर्छ।

नगरपालिकाको नियम पालन गर्नुपर्छ। पटक–पटक सूचना जारी गर्दा अटेर गर्ने नागरिकलाई जरिवाना वा अन्य कानूनी कारबाहीको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले सबै नागरिकले नियमको पालना गर्नुपर्छ।

सडक संरचनाको उचित संरक्षणमा ध्यान दिनुपर्छ। घर वा व्यवसाय अगाडिको सडक बिग्रिएको अवस्थामा नगरपालिकालाई जानकारी गराई आवश्यक मर्मत सम्भारमा पहल गर्नुपर्छ।

सडक निर्माणका बेला गुणस्तरीय सामग्रीको प्रयोग सुनिश्चित गर्नुपर्छ। निर्माण कम्पनीहरूले गुणस्तरीय सामग्री प्रयोग गरिरहेका छन् वा छैनन् भन्ने अनुगमनमा स्थानीय समुदायले पनि ध्यान दिनुपर्छ।

सडक सरसफाइ तथा सचेतना अभियानमा सहभागी बन्नुपर्छ। नगरपालिकाले समय–समयमा सञ्चालन गर्ने सचेतना कार्यक्रमहरूमा सहभागी भई सडक संरक्षणको महत्व बुझ्न आवश्यक छ।

नयाँ निर्माण भइरहेको सडकको भविष्य

हाल बिर्तामोड–१ स्थित अतिथि सदन सडकको स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेको छ। कार्यवहाक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार यो सडक ९२५ मिटर लम्बाइसम्म स्तरोन्नति गरिँदैछ। नागरिकले उपयुक्त ध्यान नदिएमा पुनः छोटो समयमा नै सडक बिग्रिने र नगरपालिकालाई फेरी एकै ठाउँ पटक पटक बजेट व्यवस्थानि गर्न कठिन हुने छ । जानकारी प्राप्त भए अनुसार अतिथि सदन मार्ग एक दशक भित्र तीन पटक कालोपत्रे हुदैछ ।

सडक निर्माण नगरपालिकाको दायित्व भए पनि त्यसको संरक्षण र दीर्घायु कायम राख्ने जिम्मेवारी हरेक नागरिकको हो। घरको छतको पानी सडकमा नझार्ने, सडकलाई क्षति पु¥याउने गतिविधि नगर्ने र सडक सरसफाइमा ध्यान दिने जस्ता कार्य अपनाएर मात्रै नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन्। बिर्तामोडका सडकलाई दिगो बनाउन आजैदेखि नागरिक सचेत बन्नु आवश्यक छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)