काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वर्तमान सरकारलाई भ्रमको खेती गर्ने आरोप लगाएका छन्। उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै सरकारका गतिविधिहरूलाई नागरिक कठघरामा उभ्याएका छन् ।
उनका अनुसार भ्यू टावरको नक्सा पासको स्वीकृतिसम्बन्धी गलत प्रचार गरिएको छ । कानुनी व्यवस्था अनुसार नक्सा पास गर्ने अधिकार मेयरसँग नभई कार्यपालिकासँग मात्र हुने स्पष्ट पार्दै उनले पीपीपी मोडेलमा नक्सा पासको प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा निरन्तर बैठक बसेको प्रमाण आफूसँग सुरक्षित रहेको बताए ।
मेयर साहले कार्यकारी टिक्दैन भन्ने दाबीलाई खण्डन गर्दै महानगरको कार्यकालमा चार जना कार्यकारी हटाइएका मध्ये दुई जनालाई भ्रष्टाचारमा संलग्न भएको कारण हटाइएको स्पष्ट पारे। उनका अनुसार असल कार्यकारीलाई हटाउने निर्णय सरकार स्वयंले गरेको हो । सरकारले महानगरलाई जानकारी नै नदिई कार्यकारी हटाएको आरोप लगाउँदै उनले कार्यकारी नटिक्नुको दोष महानगरलाई दिने प्रयास भ्रामक रहेको बताए ।


उनले काठमाण्डौँमा कार्यकारी जान नमान्ने भन्ने भनाइलाई लज्जास्पद, लाचार र गैरजिम्मेवार ठहर गरे । सरकार आफ्ना कर्मचारीलाई आवश्यक ठाउँमा खटाउन असमर्थ रहेको उल्लेख गर्दै उनले दंगाग्रस्त क्षेत्रहरूमा आवश्यक सुरक्षाकर्मी तथा प्रशासनिक अधिकारी पठाउन नसक्ने अवस्थाको संकेत यसबाट झल्किने बताए । सरकार आफैं मातहतका कर्मचारीलाई नियन्त्रित गर्न असफल देखिएको भन्दै उनले यसले शासन व्यवस्था कमजोर बनाउने चेतावनी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृत नियुक्त गर्ने अधिकार नेपाल सरकारसँग रहेको भए पनि सरकारले यो जिम्मेवारी पूरा नगरेको उनले बताए । बरु उल्टै मेयरले चाह्यो भने आफैं प्रमुख प्रशासकीय अधिकृत तोक्न सक्छ भन्ने भ्रम फैलाइएको आरोप उनले लगाए । कानुनी व्यवस्थालाई बेवास्ता गर्दै सरकार आफ्नो गैरजिम्मेवारी लुकाउने प्रयासमा लागेको उनले बताए ।
कार्यकारी छानबिनको रिपोर्ट लुकाइएको भन्ने दाबीलाई उनले अस्वीकार गरे । उनका अनुसार रिपोर्ट नै तयार नभएको अवस्थामा लुकाइएको भन्ने आरोप पूर्णतः गलत हो।

मन्त्रीसँग समन्वय गर्नुपर्छ भन्ने सन्दर्भमा उनले महानगरले पत्राचारका साथै आधिकारिक संयन्त्रमार्फत सम्पर्क गरिसकेको दाबी गरे । विधि र वैधानिकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत सम्बन्धको आधारमा काम गर्नु स्वीकार्य नहुने बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले आफू सरकारका विपक्षी नभई विकासका साझेदार भएको प्रस्ट पारे । उनले काठमाडौं महानगरपालिकाले विकासका सबै काम ओलीकै कार्यकालमा गरेको भनेर स्वीकार्न तयार रहेको तर त्यसलाई स्वीकार्य बनाउन सरकारलाई पूर्वाग्रहबाट मुक्त हुनुपर्ने बताए । उनले सरकारलाई सुशासनका लागि साझेदारी गर्न आग्रह गर्दै महानगरले भ्रष्टाचारविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरे । महानगरलाई जति नाकाबन्दी लगाइए पनि आफ्नो नियतमा कुनै परिवर्तन नहुने बताउँदै उनले सुशासन कायम गरेरै छाड्ने दृढता दोहोर्याए। उनले सुशासनको लागि जो सँग जुध्नु परे पनि तयार छु, तर सम्झौता गर्दिन भनेर पनि लेखेका छन् ।


मेयर बालेन ले आफ्नो फेसबुक वालमा लेखेको कुराको आधारमा समाचार बनाइएको हो ।

