



काठमाण्डौ – ललितपुरको टीकाथली गोदावरी खोला नजिकै खानेपानीका लागि ´डीप बोरिङ`गर्ने क्रममा आज बिहान आगोको ज्वाला निस्किएको छ ।

बिहान झन्डै साढे ९ बजे निस्किएको आगो दिउँसो १२ बजेतिर नियन्त्रणमा आएको महालक्ष्मी नगरपालिका–५ का वडाध्यक्ष कपिल केसीले जानकारी दिनुभयो । आगोको ज्वाला निस्केको क्षेत्र महालक्ष्मी नगरपालिका–५ मा पर्छ ।


बोरिङको पाइप गाडेको ठाउँबाट आगोको ज्वाला निस्केपछि निभाउन केही समय लागेको थियो । झन्डै ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो ।


स्थानीय बासिन्दा र सुरक्षाकर्मीले माटो र पानी छ्यापेर आगो निभाउने प्रयास गरे पनि निभ्न सकेको थिएन । पछि आगो निभाउने प्रविधि प्रयोग गरिएको वडाध्यक्ष केसीले बताउनुभयो । अहिले कुनै जोखिम नरहेको उहाँको भनाइ छ ।
ललितपुर प्रहरी परिसरका प्रवक्ता नरहरि रेग्मीले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारीमा आएपछि निभाउन पहल गरिएको बताउनुभयो ।