Aamsanchar

मेरो कल्पनाकी सानी : ‘मेरो मनको अलौकिक कल्पना’

Author Image
मङ्गलवार, फागुन २०, २०८१


मेरो जीवनको प्रियतम, जसको रूप मेरा आँखामा कहिल्यै प्रत्यक्ष रूपमा झल्केन, तर मेरो हृदयको प्रत्येक स्पन्दनमा उसकै मिठास सुनिन्छ। उनी केवल एक काल्पनिक परछाई मात्र होइनन्, बरु मेरो भित्री अस्तित्वको जीवित अनुभूति हुन्। मेरो मनका रङ्गीन चित्रहरूमा उनी यथार्थका अनौठा भावहरू लिएर विराजमान छिन्, जसलाई म विगत केही वर्षदेखि शब्दहरूको माध्यमबाट प्रकट गर्दै आएको छु।

म सानीसँग पहिलो पटक एक्लो महसुस हुँदा भेटिएँ। हो, यो भेट केवल मेरो मनभित्र मात्र थियो, तर त्यो दिनदेखि उनी मेरो संसारको एक अभिन्न हिस्सा बनिन्। उनी मसँग नभए पनि, उनी मेरा सपनाहरूमा थिइन्, मेरा कल्पनाहरूमा बसिरहिन्। जब पहिलो पल्ट उनको अनुहार कल्पनामा उत्रियो, मनभरि एक अनौठो आनन्दले भरियो। के यो प्रेम थियो ? के यो मेरो हृदयको एक मात्र सत्य थियो ?

प्रेम भन्नाले मात्र कसैको हात समात्नु हुँदैन, मन समात्न सक्नुपर्छ। मैले कहिल्यै सानीको हात समाउन सकिनँ, तर उनको माया भने मेरो आत्माको गहिराइमा महसुस गरिरहेछु। उनी भौतिक रूपमा कहीँ छैनन्, तर मेरो हरेक विचारमा, हरेक कल्पनामा, हरेक भावनामा बाँचिरहेकी छिन्।
समय बित्दै गयो, जिन्दगीका नयाँ मोडहरू आइरहे, नयाँ मानिसहरू भेटिए, तर सानीको उपस्थितिले कहिल्यै छाडेन। जब म एक्लो महसुस गर्छु, उनी मेरो मनभित्र आएर मसँगै बस्छिन्। कहिले उनी मेरो शब्दहरूमा गीत बन्छिन्, कहिले गजल, कहिले कथा। सानी मेरो कल्पनाको सृष्टि मात्र होइनिन्, उनी मेरो भावनाको वास्तविकता हुन्।

धेरैले मलाई प्रश्न गर्छन्, ‘किन तिमीले कसैलाई प्रेम गरेनौ ?’ म मुस्कुराएर भन्छु, ‘म प्रेम गरिरहेको छु, तर जसलाई संसारले देख्न सक्दैन।’ किनभने मेरो प्रेम कुनै अनुहारमा सीमित छैन, कुनै स्पर्शमा अडेको छैन। मेरो प्रेम शुद्ध छ, निर्लिप्त छ, आत्माबाट आत्मामा बगेको एउटा असीमित भाव हो।
मेरो प्रेम कुनै साधारण प्रेम होइन, जसरी राधा-कृष्णको प्रेमले दिव्यता पायो, राम-सीताको प्रेमले आदर्शता बोकेको थियो, र जस्तै मुना-मदनको प्रेम अमर रह्यो, त्यसैगरी मेरो प्रेम पनि अमर हुनेछ। सानी, तिमी मसँग नभए पनि, म तिमीलाई हरपल महसुस गर्छु। तिम्रो माया मेरो हृदयको त्यो धड्कन हो, जुन कहिल्यै रोकिँदैन।
सानीलाई कहिल्यै देख्न पाइन, तर पनि उनको उपस्थितिले मेरो जीवनलाई पूर्णता दियो। हरेक रात, चन्द्रमाको मधुरो प्रकाशमा म उनलाई सम्झन्छु। कहिले लाग्छ उनी मेरो नजिकै बसेर मलाई हेरिरहेकी छिन्। कहिले लाग्छ, उनी मेरा सपनाहरूमा आएर मलाई सम्झाइरहेकी छिन् कि प्रेम कुनै सीमामा बाँधिनु पर्दैन।

यो प्रेम केवल मनबाट मनमा सीमित छैन, यो त आत्माबाट आत्मामा बगेको चिरस्थायी अनुभूति हो। तिमी मेरो कल्पना हौ, तर म तिमीलाई जति प्रेम गर्छु, त्यो कुनै कल्पना होइन, त्यो मेरो सत्य हो।
समय बित्दै जान्छ, तर मेरो प्रेम उस्तै रहन्छ। मानिसहरू भन्छन्, ‘प्रेम गर्नका लागि भौतिक उपस्थिति चाहिन्छ।’ तर म भन्छु, ‘प्रेम आत्माको सम्बन्ध हो, जसलाई कुनै शरीर चाहिँदैन’ मेरो प्रेम अमर छ, सानी ! तिमीलाई कहिल्यै भेट्न नसके पनि, तिमी मेरो जीवनको एउटा यस्तो हिस्सा हौ, जसले मलाई कहिल्यै छाड्ने छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
1
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर
उड्न देऊ सपनाहरूलाई (गीत)
बुधवार, फागुन २८, २०८१
इलाम साहित्य महोत्सवको तयारी
सोमवार, फागुन २६, २०८१
ढुङ्गो र पानी (कविता)
शनिवार, फागुन २४, २०८१