Aamsanchar

‘जाउँ है पोखरा’ भन्दै पोखराका होटल व्यवसायीहरू पूर्वका पाँच शहर दौडाहामा

Author Image
मङ्गलवार, फागुन २०, २०८१

बिर्तामोड ।  होटल सङ्घ पोखरा नेपालले दुई दशकदेखि सञ्चालन गर्दै आएको ‘जाउँ है पोखरा’ अभियानलाई निरन्तरता दिँदै यस वर्ष पनि देशका विभिन्न स्थानमा प्रचारात्मक गतिविधि सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत होटल व्यवसायीहरूले यस पटक आन्तरिक पर्यटनलाई पोखरा बोलाउदै बिर्तामोडबाट कार्यक्रम सुरु गरेका छन् ।
देशका पाँच प्रमुख शहरहरूमा प्रचारमुखी कार्यक्रममा निस्किएका व्यवसायीहरूले जनकपुर, इटहरी, बर्दिबास र हेटौडामा कार्यक्रम गर्ने बताइएको छ ।

सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी मात्र होइन, सम्पूर्ण पर्यटन व्यवसायी, स्थानीय निकाय, तथा सरोकारवालाहरूले आफ्नो क्षेत्रको प्रचार गर्नुपर्ने आवश्यकता छ। पोखरामा मात्र होइन, देशभरकै प्रमुख पर्यटकीय गन्तव्यहरूलाई सशक्त बनाउन होटल व्यवसायीहरू अग्रसर रहेको उनले बताए ।
सङ्घले पोखरालाई प्रमुख गन्तव्य बनाउन मात्र होइन, अन्य स्थानबाट पोखरा आउने पर्यटकलाई पूर्वी नेपाललगायत अन्य क्षेत्रतर्फ पनि परिचालित गर्ने रणनीति लिएको छ। पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँको लगानी रहेको, १ हजार २०० होटलमा करिब ४० हजार विस्तारा रहेको र १५ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी दिएको तथ्याङ्क सङ्घले सार्वजनिक गरेको छ ।

पर्यटन प्रवर्द्धनका लागि सङ्घले फेवा नव वर्ष महोत्सव, भाइटीका महोत्सव, खाना महोत्सव तथा खेलकुदसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । भारतीय शहरहरूमा समेत पोखरा प्रवर्द्धन अभियान सञ्चालन गर्ने योजना सङ्घले बनाएको छ ।

होटल व्यवसायीहरूले पर्यटनलाई देशको आर्थिक मेरुदण्डका रूपमा स्थापित गर्नका लागि स्थानीयस्तरबाटै पहल गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार, आन्तरिक पर्यटनको प्रवद्र्धन ले मात्र समग्र पर्यटन क्षेत्र मजबुत बनाउन सकिन्छ ।

अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यवाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौला प्रमुख अतिथि थिए। यसका साथै, होटल व्यवसायी सङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, कोशी भ्रमण वर्ष २०८२ का सह–संयोजक भवेश श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, बन्दीपुर केबलकार एण्ड टुरिजमका अध्यक्ष किरण पोखरेल, उद्योग वाणिज्य सङ्घका भीष्मराज खरे लगायतले आ–आफ्ना विचार व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन सङ्घकी सचिव पार्वता पाण्डेले गरेकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर