Aamsanchar

ताप्लेजुङस्थित पाथीभरा जाने पदमार्ग निर्माण

Author Image
बुधवार, फागुन २१, २०८१

ताप्लेजुङ-ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) जाने पदमार्ग निर्माण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम हुँदै पाथीभरा आउजाउ गर्ने पदमार्ग निर्माण गरिएको हो।

पाथीभरा क्षेत्र विकास समितिको लगानीमा ढुङ्गा बिछ्याएर (सोलिङ गरेर) पदमार्ग निर्माण गरिएको छ। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार समितिद्वारा विनियोजित २० लाख रुपियाँ बजेटका लागतमा पदमार्ग निर्माण गरिएको हो। समितिको आन्तरिक स्रोतबाट बजेट विनियोजन गरिएको पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो।

उहाँका अनुसार लिङ्खिमको इच्छातेम्बेदेखि कान्छिथान, माइलीथान हुँदै रमिते डाँडासम्म एक हजार ६०० मिटर पदमार्ग निर्माण गरिएको हो। स्थानीय उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गरिएको पनि समितिले जनाएको छ।

उक्त पदमार्ग निर्माण भएसँगै मिक्वाखोला गाउँपालिकाको पापुङ, साँवा, खोक्लिङ तथा फक्ताङ्लुङ गाउँपालिकाको सावादिन, खेजेनिम, इखाबु, तापेथोक, लेलेप, ओलाङ्चुङगोला र लिङ्खिम क्षेत्रबाट पाथीभरा दर्शनमा जाने भक्तजन तथा पदयात्रीलाई सहज हुने भएको छ। पदमार्ग निर्माण गरिएको क्षेत्र गुराँसे वनसहित सुन्दर र आकर्षक भूबनावट भएकाले यात्रुलाई पदयात्रा गर्न पनि आनन्द आउने लिङ्खिमका स्थानीय क्षितिज लिङ्खिम लिम्बूले बताउनुभयो।

 

यसअघि समितिकै आर्थिक लगानी फुङ्लिङ नगरपालिका–१० फुरुम्बुको मयाम हुँदै पनि पाथीभरा जाने पदमार्ग निर्माण गरिएको थियो। पदमार्ग निर्माण गरिएपछि पाथीभरा दर्शनमा जाने भक्तजनसँगै अन्य यात्रुलाई आउजाउ गर्न सहज भएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर