



ताप्लेजुङ-मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पक्की पुल निर्माणमा ढिलाइ हुँदा ताप्लेजुङवासी चिन्तित बन्न थालेका छन् । हिउँदयाम सकिनै लाग्दासमेत पुल पुनर्निर्माण हुन नसक्दा यहाँका बासिन्दा चिन्तित बनेका हुन् ।

गत असोज १२ गतेको भीषण वर्षासँगै बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको मेची राजमार्ग जोड्ने बेलिब्रिज बगाएको थियो । यही पुलका कारण राजमार्गले पहिलो पटक ताप्लेजुङलाई सडक सञ्जालमा जोडेको थियो । पछिल्लो समय निर्माणाधीन तमोर कोरिडोर र मदन भण्डारी (धनकुटा–वसन्तपुर–गुफा–दोभान सडक) राजमार्गले ताप्लेजुङलाई जोडे पनि सडक पहुँच र यातायात सञ्चालनका दृष्टिले मेची राजमार्ग नै मुख्य सडक हो ।


हेवाखोलामा समयमै पुल नबन्दा सिङ्गो जिल्लावासीले यातायात सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउने ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “पुल समयमै नबनेमा बर्खायाममा जिल्लावासीलाई उपभोग्य आपूर्तिमा समस्या आउने छ । पुलकै अभावमा यातायात असुविधा भएमा यात्रु तथा जिल्लावासीलाई ठुलो मार्का पर्ने छ ।” बर्सात लागेपछि आउन सक्ने सङ्कटलाई दृष्टिगत गरी ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ र जिल्लावासीले यसअघि नै सरकारको ध्यानाकर्षण पनि गराइसकेका छन् ।


प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि हेवाखोलाको पुल निर्माणमा ढिलाइ हुँदा ताप्लेजुङका लागि आइपर्ने समस्याबारे सम्बन्धित निकायमा जानकारी गराएको उल्लेख गर्नुभएको छ । मेची राजमार्ग र तमोर कोरिडोर सडक जोड्ने हेवाखोलाकै अर्को पक्की पुल पनि एकै दिनको बाढीले बगाएर यातायात सञ्चालनमा समस्या रहेकाबारे सम्बन्धित निकायमा अवगत भइसकेको प्रजिअ शर्माको भनाइ छ । सडक डिभिजन इलामले भने पुल निर्माण सुरु भइसकेको सडक जनाएको छ । सडक डिभिजन इलामका इन्जिनियर लक्ष्मण बरालले हेवाखोलामा बेलिब्रिज निर्माण हुने र निर्माण कम्पनीले काम सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले निर्माण कम्पनी दोभान सुपर सौगात लाइट जेभीले बेलिब्रिज निर्माणको काम केही दिनअघिदेखि सुरु गरेका र आगामी जेठ मसान्तसम्ममा बेलिब्रिज बनाइसक्ने दाबी गर्नुभयो । पुल निर्माणका लागि तीन करोड ५४ लाख रुपियाँमा ठेक्का लगाइएको छ ।
हेवाखोलामा पहिला पुल रहेको स्थानभन्दा ८० मिटर तल्लो भागतर्फ बेलिब्रिज निर्माण गरिने इन्जिनियर बरालले जानकारी दिनुभयो । उहाँका अनुसार अब बन्ने बेलिब्रिजको लम्बाइ ७० मिटरको हुने छ भने पहिले ४८ मिटर लम्बाइ भएको पुल रहेको थियो । तोकिएको समयभित्रै बेलिब्रिज निर्माण भइसक्ने र चिन्तित बनिहाल्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
दोभान सुपर सौगात लाइट जेभीका ओभरसियर पवन भट्टराईले पनि हेवाखोलामा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको जानकारी दिनुभयो । ओभरसियर भट्टराईका अनुसार बेलिब्रिज पुलका लागि जिप निर्माणका लागि आवश्यक पर्ने सामग्री पनि आइपुगेकाले बुधबारदेखि ड्रिलिङको काम सुरु हुने छ । उहाँले आगामी वैशाखभित्र बेलिब्रिज निर्माण सम्पन्न हुने दाबी पनि गर्नुभयो । उहाँका अनुसार हेटौँडास्थित एक कम्पनीमा बेलिब्रिजको ट्रस सामग्री तयार भइसकेको छ । बाढीले क्षति गरेको सो सडकको पनि पुनर्निर्माण गर्न सुरु गरिएको सडक डिभिजन इलामले जनाएको छ । हिजोआज भने जलविद्युत् आयोजनाले प्रयोग गरेका कारण हेवाखोलामा पानी नभएको र अस्थायी डाइभर्सनमार्फत नै मेची राजमार्गमा यातायात सञ्चालनमा रहेको छ ।