झापा । कनकाई नगरपालिका– दुर्गापुरमा अवस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई ध्यानमा राखी शैक्षिक अवलोकन भ्रमण कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ। केवल किताबी ज्ञानमा सीमित नरही, विद्यार्थीहरूको व्यावहारिक अनुभव वृद्धि गर्ने उद्देश्यले विद्यालयले विगतका वर्षहरूदेखि झापा लगायतका विभिन्न ऐतिहासिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक रूपमा महत्त्वपूर्ण स्थानहरूमा विद्यार्थीहरूलाई अवलोकन भ्रमण गराउँदै आएको छ।

यसै शृङ्खलामा, विद्यालयले आज कक्षा ७ का विद्यार्थीहरूलाई झापा जिल्लाको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा अवलोकन भ्रमण गराएको छ। भ्रमणका क्रममा विद्यार्थीहरूले स्थानका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै त्यसको ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महत्त्व तथा वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिने अवसर पाए।



विद्यालयका संस्थापक ओम विक्रम नेम्वाङ का अनुसार, विद्यार्थीहरूले आपसमा सहयोगात्मक भावना अभिवृद्धि गर्दै स्वेच्छिक रूपमा संकलन गरेको केही रकम गौशालाका गाईहरूको आहार व्यवस्थापनका लागि व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन्। यस कार्यले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, परोपकार र सेवाभावको भावना विकास गर्ने उद्देश्य बोकेको उनले बताए।


साथै, शिक्षकहरूले विद्यार्थीहरूलाई प्रकृति संरक्षण, पशुपालन तथा वातावरणीय सन्तुलनमा पशु र वनस्पतिको महत्त्वबारे प्रत्यक्ष सिकाइको अवसर प्रदान गरे। यस अवसरमा विद्यार्थीहरूले प्रकृति र वातावरणसँगको सम्बन्ध, जैविक विविधताको महत्त्व तथा जिम्मेवार नागरिकका रूपमा निर्वाह गर्नुपर्ने भूमिका बारे पनि जानकारी प्राप्त गरे।
विद्यालय प्रशासनका अनुसार यस्ता शैक्षिक अवलोकन भ्रमण कार्यक्रमहरू विद्यार्थीहरूका लागि अत्यन्त प्रभावकारी सिद्ध भएका छन्। यसले विद्यार्थी, अभिभावक र विद्यालयबीचको सम्बन्ध सुदृढ पार्दै, व्यावहारिक सिकाइलाई प्रवर्द्धन गर्न मद्दत पुर्याएको छ। भविष्यमा पनि विद्यालयले यस्ता शैक्षिक, सामाजिक तथा नैतिक शिक्षाका लागि उपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।