Aamsanchar

आजको राशिफल : २३ फागुन २०८१, शुक्रवार

Author Image
बिहिवार, फागुन २२, २०८१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । घरमा सम्पर्क राखी व्यवहारिक जानकारी प्राप्त गर्ने समय हो । परिवारभित्रका सानातिना समस्या सुन्दा दिक्क लाग्ने र एक आपसमा मनोमालिन्य बढ्ने समय देखिन्छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
एकआपसमा अहङ्कार र एटिच्युडको प्रवेश हुनु राम्रो होइन, जीवनसाथीसँग कुनै पनि कुरो नलुकाउनु होला, नत्र भविष्यमा कलहको बीजारोपण हुनसक्छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । रिस र घमण्डको कुचक्रमा फँस्ने दिन हो । आत्मसंयम बन्ने प्रयास गर्नुहोला, नत्र परिस्थिति अझ जटिल बन्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । सुखसुविधा वा सजावटका सामान वा भाँडाकुडा खरिद गर्न अनुकूल समय छ, तर घरव्यवहार र दैनिक कामधन्दामा निकै खट्नुपर्ने परिस्थिति छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
दायित्व र जिम्मेबारी थपिने समय हो, कार्यक्षेत्रमा हाकिम वा गुरुवर्ग तथा घरमा अभिभावकको सान्निध्य पाइने तथा विचार र भावना ग्रहण गर्ने दिन हो, सेवाचाकरीमा पनि केही समय दिनुपर्ने हुन्छ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । आम्दानीको मार्ग बढ्नेछ र आयका नयाँनयाँ स्रोतहरू प्राप्त हुनेछन् । यद्यपि खर्च पनि बढ्नेछ, तर आम्दानीका तुलनामा बढी खर्च हुनेछैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । सहकर्मी साथी वा सहयोगीसित झैझगडा हुने दिन हो, बल प्रदर्शन गर्नु हुँदैन, नत्र सानोतिनो चोटपटक नै लाग्नसक्ने परिस्थिति छ । कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
देखिएका बाधा÷अड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ । स्वास्थ्यस्थितिमा कमजोरी देखिए पनि आनन्द र तिर्सनामा बृद्धि हुने दिन हो । स्वभावमा अस्वाभाविकता देखा पर्नेछ, कलहबाट टाढिएको जाती हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पद्र्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
नातागोता, बन्धुवान्धव र दाजुभाइसँग सम्पर्क गरी सहयोग आदान प्रदान हुनसक्छ । कुनै ठोस लगानी गर्नुछ भने प्रयास गर्नु राम्रो हुन्छ । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर