Aamsanchar

ढुङ्गो र पानी (कविता)

Author Image
शनिवार, फागुन २४, २०८१

लुटिस् खोस्रेर ए मान्छे ढुङ्गा र बालुवाहरू
बर्षामा पनि हाँस्तैनन् दुखेका पालुवाहरू
चुरेका खहरे खोला सर्वत्र मासिइसके
मुहान पैनीका जम्मै धस्सिए भासिइसके

अति दोहनले खायो धर्तीका ऊर्वराहरु
चिहानघारी नै देख्छु सारा संरचनाहरू
केही ठालु र चालुका लागि बगर स्वर्ग छ
माटो पाकेर उम्लिन्छ तटीय भूमि त्रस्त छ

पानी र हरियाली नै जम्मै शुष्क बनिसके
छोड्दै मानिसले बस्ती, बास सर्छु भनिसके
ब्वाँसो तुल्य लुछी खोला खाने नै दङ्ग पर्दछन्
संरक्षकहरू सानो बिलो लिएर चर्दछन्

दर्द घोलेर बोल्दै छु ढुङ्गो बिरिङ धारमा
माटे नजिकमा एक्लो बँचेको छु किनारमा
साँच्चै दुर्भाग्य देख्ने छु म मान्छेका निधारमा
भविता जलको बिन्दु भेटिने छैन जारमा

कति साथी थिए मेरा यही पर्वत काखमा
अति दोहनले ऐले कोही भेटिन्न साथमा
म नै अस्तित्व ढुङ्गाको एक्लै थामिरहेछु कि
पीडाको गहिरो घाउ मात्रै छामिरहेछु कि

बने नहर पानीको अस्तित्व मेटिएपछि
बिस्तारित भए नाला जलबिन्दु सुकेपछि
सुँडे यन्त्र लगाएर खनिन्छिन् विचरा धरा
म ढुङ्गो आँसु झार्दै छु चिरिन्छन् खेतका गरा

जेठमा अँजुली बाँधी बालुवा थिग्रिएपछि
गोठाला पिउँथे पानी भाद्रमा निख्रिएछ कि
चैतमा जलको थोपो नपाएर कठैबरा
अर्कै जङ्गल खोजेछन् देखिन्नन् वनका चरा

यहीँ बगरको गर्भ गृहबाट सुसाउँदै
भन्दै छ पानीको थोपो मान्छेदेखि रिसाउँदै
म नै अन्तिम थोपा हुँ धर्तीको रस निर्मल
म सुक्दै छु यहीँबाट भासिँदै छु रसातल

ढुङ्गो र पानी उक्ति सुनेर कवि गम्भीर
बने के गर्न सक्थे ती लेख्दै छन् चार अक्षर
धर्तीको मुटु झिक्नेकै विश्वव्यापी छ रज्गज
तिनैका दासले पारे कान्छो पर्वत हल्चल।

लक्ष्मी प्रसाद रिजाल
बुदेधशान्ति-२ झापा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर