



काठमाडौं – राजावादीहरु सलबलाउन थालेपछि नेपाली राजनीति गर्माउँदै गएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शनिबार साँझ शितलनिवास पुग्नुभएको थियो।


उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। स्रोतका अनुसार विकसित राजनीतिक घटनाक्रम र चर्चाहरूबारे बारे पनि प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको थियो।


प्रधानमन्त्री ओलीले पार्टीका केही उच्च नेताहरूसँग पनि समसामयिक परिस्थितिबारे कुरा गरेका छन्। यसैबीच प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले राजनीतिमा विकसित घटनाक्रमबारे छलफल गर्न भन्दै जागरण अभियान स्थगित गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मधेश केन्द्रित पार्टीको जागरण अभियान एक साताका लागि स्थगित गरेर काठमाडौं फर्किएका हुन्। रौतहटको कार्यक्रम सम्पन्न गरेर माओवादी नेताहरू काठमाडौं आएलगत्तै आज पार्टीको पदाधिकारी बैठक बस्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर अन्य राजनीतिक दलहरूसँग पनि दाहालले छलफल गर्ने भएका छन्। पछिल्लो समय संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रात्मक प्रणालीविरुद्ध गतिविधि भइरहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने तयारी गरेका छन्।
फागुन ७ मा आफूलाई साथ दिन पूर्व राजा ज्ञानेन्द्र शाहले आह्वान गरेपछि राजावादीहरु राजा फर्काउँने भन्दै लागि परेका छन्। उनीहरुले आज ज्ञानेन्द्र विमानस्थलमा आउने कार्यक्रम रहेकोले स्वागतका लागि उपस्थित हुन उर्दी जारी गरेका छन्।
शुक्रबार मात्र नेपाली कांग्रेसका सभापति देउवासँग दाहालले टेलिफोनमा कुराकानी गरेका थिए भने प्रधानमन्त्री ओलीसँग भने समय नमिलेका कारण कुराकानी नभएको प्रवक्ता सापकोटाले बताए।
काठमाडौं फर्किपछि दाहालले काठमाडौं फर्किएपछि ओली र देउवासँग भेटघाट गर्ने तयारी गरेका छन्। तर समय भने निश्चित भइनसकेको प्रवक्ता सापकोटाको भनाइ छ।