शिजुओका । आउँदो मार्च २२ र २३ (चैत्र ९ र १०) मा जापानको शिजुओका स्थित फुजी अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा ‘सेभेन सामुराई युनाइटेड प्रिमियर लिग’ आयोजना हुने भएको छ। पहिलो संस्करणको यस प्रतियोगितामा जापानमा रहेका नेपाली क्रिकेट क्लबहरूबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतियोगितामा जापानस्थित आठ नेपाली क्लबले भाग लिनेछन्। प्रतियोगिताका विजेता टोलीका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो स्थान हासिल गर्ने टोलीले २५०,००० येन नगद, ट्रफी, र मेडल प्राप्त गर्नेछ, भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ९९,९९९ येन नगद, ट्रफी, र मेडल जित्नेछ। तेस्रो स्थानमा रहने टोलीलाई विशेष मेडल प्रदान गरिनेछ।

यस लिगको टाइटल स्पोन्सर ‘सेभेन सामुराई इन्टरनेशनल’ रहेको छ। प्रतियोगिता आयोजना गर्नुको उद्देश्य जापानमा रहेका नेपाली समुदायबीच आत्मीयता अभिवृद्धि गर्नुका साथै खेल प्रतिभालाई प्रस्फुटन गराउनु रहेको आयोजक कमिटीका सागर सिंह ठकुरीले जानकारी दिनुभएको छ।


शिजुओका युनाइटेड क्रिकेट क्लबका कप्तान राजेन्द्र राज गुरुले प्रतियोगिताले नेपाली टिमहरूलाई जापान कप जस्ता ठूला प्रतियोगिताका लागि राम्रो अभ्यासको अवसर प्रदान गर्ने बताउनुभयो। जापानमा नेपाली क्रिकेटप्रति बढ्दो रुचि रहेको अवस्थामा यो प्रतियोगिता खेलाडीहरूका लागि विशेष अवसर बन्ने अपेक्षा गरिएको छ।

