Aamsanchar

मिथेन ग्यास भएका ठाउँहरुमा जमिन खन्दा सावधानी अपनाउन आग्रह

Author Image
सोमवार, फागुन २६, २०८१

काठमाण्डौ – काठमाण्डौ उपत्यकाभित्र मिथेन ग्यास भएका ठाउँहरुमा जमिन खन्दा सावधानी अपनाउन खानी तथा भूगर्भ विभागले आग्रह गरेको छ ।

विभागका उप-महानिर्देशक एवम् प्रवक्ता मोनिका झाले ग्यास भएका ठाउँमा दुई सय मिटरभन्दा धेरै खन्नुपरेमा सावधानी अपनाउन सुझाव दिनुभएको हो ।

डिपबोरिङ, कुवा वा अरु कामका लागि जमिन खन्नुपरेमा सलाई, लाइटरजस्ता आगो लाग्ने उपकरण प्रयोग नगर्न उहाँको सुझाव छ ।

उहाँले काठमाण्डौ उपत्यकाका विभिन्न १४ ठाउँमा मिथेन ग्यास रहेको जानकारी दिनुभयो ।

ग्यास बाहिर निस्कँदा आगोले भेटेमा मात्रै त्यो जोखिमपूर्ण हुने अन्यथा त्यसबाट कुनै असर नपर्ने उहाँको भनाइ छ ।

यसअघि भएको अध्ययनबाट त्रिपुरेश्वर, टेकु, कुलेश्वर, कालिमाटी, भृकुटीमण्डप,कोटेश्वर, टिकाथली, बालकुमारी, ईमाडोलमा मिथेन ग्यास रहेको पुष्टी भइसकेको छ ।

मिथेन ग्यास वातावरणमैत्री ईन्धन रहेको र यसलाई पेट्रोल र डिजेलको विकल्पको रुपमा प्रयोग गर्न विभागले जनाएको छ ।

अघिल्लो हप्ता ललितपुरको टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो ।

गोदावरी खोला नजिक स्थानीय खानेपानी आयोजनाका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेपछि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउमा मिथेन ग्यास रहेको विषय बाहिर आएको हो ।

यसअघि २०७९ साउनमा काठमाण्डौको जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको थियो ।

आठ वर्षअघि भक्तपुर पिलागाउँमा पनि डिप बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगलागी भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर