काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी २७ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्।
सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलपछि प्रचण्डको सम्बोधनलाई कार्यसूचीमा समेट्ने निर्णय गरिएको हो।
यसअघि माओवादी केन्द्रले तराई-मधेस जागरण अभियान सञ्चालन गरिरहेको भए पनि प्रचण्ड केही दिनका लागि काठमाडौं आएका छन्। संसदमा उनको सम्बोधनलाई पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि, नागरिक बचाउ अभियान, तथा राप्रपाको सक्रियतासँग जोडेर हेरिएको छ।
पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्कने क्रममा भएको शक्तिप्रदर्शनले नेपाली राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न गरेको छ। यसै सन्दर्भमा प्रचण्डले संसदमा सम्बोधन गर्दै हालको राजनीतिक परिस्थितिबारे धारणा राख्ने बुझिएको छ।
विश्लेषकहरूका अनुसार प्रचण्डको सम्बोधनले गणतन्त्रको सुदृढीकरण, पूर्वराजावादी लहरप्रति सत्ता पक्ष र प्रतिपक्षको दृष्टिकोण तथा वर्तमान सरकारका नीतिहरूमा उनको पार्टीको धारणा प्रस्ट पार्ने सम्भावना छ।
प्रतिनिधि सभाको आगामी बैठकमा अन्य महत्त्वपूर्ण एजेन्डाहरूमा समेत छलफल हुने जनाइएको छ।