


प्रतिकात्मक तस्वीर ।

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित तीन जना युवामाथि गएराति बर्बर आक्रमण भएको छ। योजनाबद्ध रूपमा भएको उक्त आक्रमणमा परेर उनीहरू गम्भीर घाइते भएका छन्।

घाइतेहरूलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको छ। इन्चार्ज आङ्देम्बे आईसीयूमा उपचाररत छन् भने अन्य दुई घाइते, विश्वदीप राजवंशी र अजय खवासलाई अर्थो वार्डमा राखिएको छ। आङ्देम्बेमाथि खुकुरी प्रहार भएको हुँदा उनको अनुहारमा गहिरो चोट लागेको छ भने अन्य दुई जनाको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ।


आक्रमण कसरी भयो ?


प्राप्त जानकारी अनुसार, बिर्तामोड(४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई आफ्नो घरमा बोलाएका थिए। तर, चेनगेटमा पुग्नेबित्तिकै उनलाई खुकुरी प्रहार गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। अर्का घाइते अजय खवासका अनुसार आङ्देम्बेमाथि सोची(सम्झी हत्या गर्ने योजनाअनुरूप आक्रमण गरिएको थियो।
‘मैले रोक्ने प्रयास गर्दा मेरो हातको चार वटा औँला काटियो,’ खवासले भने।
यसैगरी, अर्को आक्रमण भद्रपुर रोडमा भएको थियो। विश्वदीप राजवंशी दरबार रेस्टुरेन्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका चार जनाले उनलाई आक्रमण गरेका थिए।
प्रहरी अनुसन्धान जारी
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान सुरु गरेको छ। प्रहरी निरीक्षक सन्तोष राईका अनुसार संलग्नहरूको खोजी कार्य जारी छ।
यस योजनाबद्ध आक्रमणको कारण के थियो भन्ने बारे विस्तृत अनुसन्धान आवश्यक देखिएको छ। घटनाले बिर्तामोड क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीयवासीले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।