बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका कालोपत्रे, पेभर, र ग्रावेल सडकहरूमा छतको पानी अनियन्त्रित रूपमा खसाल्ने प्रवृत्तिलाई रोक्न सूचना जारी गरेको छ ।

नगरपालिकाको प्रशासन शाखाले जारी गरेको सूचनामा भनिएको छ कि कतिपय घरधनीहरूले आफ्नो भवनको छतबाट वर्षातको पानीलाई सोझै सडकमा खसाल्ने गरेका छन्, जसले गर्दा सडकहरू बिग्रने, भत्किने, तथा पैदलयात्री र सवारीसाधनलाई असहज हुने समस्या देखिएको छ। यसलाई रोकथाम गर्न नगरपालिकाले सम्बन्धित सबै घरधनीहरूलाई आगामी २ महिनाभित्र उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ। निर्धारित समयभित्र समाधान नगरेमा कानुनी कारबाही समेत हुन सक्ने संकेत गरिएको छ।

नगरपालिकाले नागरिकलाई आफ्ना छतबाट बग्ने पानीलाई सोझै सडकमा नझार्ने, आवश्यक परेमा रेन वाटर हार्भेस्टिङ (वर्षे पानी संकलन प्रणाली) वा ढल निकासको व्यवस्था गर्न सुझाएको छ।


सडकको दीर्घायु संरक्षण तथा सार्वजनिक सुविधाको सुरक्षाका लागि नगरपालिकाले यो अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ। स्थानीय बासिन्दाहरूले पनि यसमा सहयोग गर्नुपर्ने नगरपालिकाको आग्रह छ।


यो पनि पढनुहोस् ।
बिर्तामोड बजारका कालोपत्रे सडक शीघ्र क्षतिको समस्या, अतिथि सदन मार्गमा फेरी कालोपत्र गरिदै