Aamsanchar

बर्सेनि कोदो उत्पादन घट्दै

Author Image
बिहिवार, फागुन २९, २०८१

गुल्मी – गुल्मी जिल्लामा कोदो उत्पादन बर्सेनि घट्दै गएको छ । जिल्लामा गत वर्षभन्दा यो वर्ष पनि उत्पादन कम भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
जिल्लामा प्रत्येक वर्ष कोदोको क्षेत्रफल पनि घटिरहेको छ । क्षेत्रफलका आधारमा भने उत्पादनको गिरावट कम भएको छ । विगत ५ वर्षको तथ्याङ्क विश्लेषण गर्दा क्षेत्रफल घटेता पनि उत्पादन भने थोरै मात्र घटे्को देखिएको छ । जिल्लामा यस वर्ष २८३४ हेक्टर क्षेत्रफलमा ३५७० मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मी कृषि प्रसार अधिकृत शिवप्रसाद बञ्जाडेले बताए ।

गएको आर्थिक वर्ष ०८०/८१ मा २८८३ हेक्टर क्षेत्रफलमा ३६९० मेट्रिक टन कोदो उत्पादन भएको थियो । पछिल्लो समयमा गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेती भन्दा अलि झन्झटिलो भएकोले यसप्रति कृषिकको आकर्षण घट्दै गएको बञ्जाडेले बताए । बीउ छर्ने बेला पानी नपरी खडेरी पर्नु, बीउ कम उम्रनु साथै कोदोमा रोग (छिर्केमिर्के ) देखिनुले कोदो उत्पादन कम भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जङगली जनावर, जङली बाख्रा खरायो, मुसालगायत जनावरले किसानलाई निकै समस्या दिने गरेको कृषकहरुले बताउने गरेका छन् । जिल्लामा ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो यहाँका कृषकहरुले लगाउने जातहरु रहेका छन् । जिल्लामा इस्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी, चन्द्रकोट मुख्य पकेटक्षेत्रहरु रहेका छन् । कोदो खेती असार र साउन महिनामा मकैभित्र रोप्ने गरिन्छ । यो खेती कात्तिक महिनाको अन्तिमबाट मंसिर अन्तिमसम्म भित्र्याउने गरिन्छ । परम्परागत रुपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइको खाना हो ।

पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा महत्वपूर्ण सूचीमा पर्दै आएको छ । गुल्मीमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रर्बद्धन पछि महत्व बढ्दै गएको छ । कोदो खेती विस्तारै घट्दै गएपछि इस्मा गाउँपालिकाले रैथाने बाली संरक्षण अभियान चलाएको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताए ।

कोदो बाली लगाउने र स्याहार्ने समयमा कृषकलाई झन्झटिलो र लागत बढी लाग्ने गरेकाले कोदो खेती गर्ने घट्दै गएको उनले बताए । कोदो खेतीलाई प्रविधिमैत्री बनाएर कम लागतमा बढी उत्पादन गर्ने तर्फ पालिकाले चासो देखाइरहेको अध्यक्ष खड्काले बताए । त्यसका लागि पालिकाले कोदो लगाउने मेसिन खोजी रहेको खड्काले बताए । पश्चिम क्षेत्रमा गाउँपालिकाहरुले कृषि उत्पादनलाई संयुक्त रुपमा बजारीकरण गर्नकालागि पनि छलफल भइरहेको उनको भनाइ छ । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ ।

गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय सहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमाभन्दा सहरका रेष्टुरा र होटलमा कोदोको परिकार पाक्ने गरेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरूप नेपालले २०७९ पुस १७ गते उक्त कार्यक्रमको शुभारम्भ गरेको थियो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो ।
गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पुर्‍याउन आजको मुख्य जिम्मेवारी एवं आवश्यकता रहेको इस्मा गाउँपालिका अध्यक्ष खड्काले बताए । लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्वपूर्ण रहेको छ ।

पोषण र स्वास्थ्यका हिसाबले लाभकारी कोदो प्रतिकूल र परिवर्तनशील मौसमी परिस्थितिमा पनि खेतीका लागि उपयुक्त बाली हो । यसको खेती पहाडी तथा सिँचाइको सुविधा नभएका क्षेत्रमा धेरै हुने गर्छ । तर, पछिल्ला वर्षहरूमा कोदो खेती गर्ने कृषकको सङ्ख्या घट्दै गएको छ । कोदोको उत्पादन कम वर्षा र कम उर्वर भूमिमा पनि हुने भएकाले सिञ्चित र असिञ्चित दुवै खाले भू–भागमा लगाइने महत्वपूर्ण बाली रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर