



मानौं तपाईं बोल्न सक्नुहुन्न र विद्रोह गर्न पनि । कसैले तपाईंलाई यति भारी बोकाउँछ, जुन तपाईंको क्षमताले भ्याउँदैन । मेरुदण्ड नुहिनेगरी भारी बोकेर मुस्किलले पाइला चाल्न सक्नुहुन्छ । यस्तो पाइला तपाईंले लाखौं पटक चाल्नुपर्ने हुन्छ । एक घण्टा, एक दिन होइन जीवनभर । जबसम्म तपाईंको शरीर रोगी र जीर्ण हुँदैन ।

यस्तो अवस्थामा के गर्नुहुन्छ ?


जबकि तपाईंका लागि बोलिदिने कोही हुन्न । न समाज, न आफन्त ।


यस्तै नियती भोगिरहेका छन्, अवोध पशुहरू । जस्तो अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा दुई वटा राँगालाई थेग्नै नसक्ने भारी बोकाइएको छ । सम्भवत एउटा ट्याक्टरले बोक्ने बाँसको भारी उनीहरूलाई बोकाइएको छ । काँधमा एउटा बलो राखिएको छ । त्यसपछि बाँसको भारी थमाइएको छ । भारीमाथि दुई जना मान्छे बसेका छन् । यति बोझिलो भारी बोकेर ती दुई राँगा सकिनसकी हिँडिरहेका छन् ।
भिडियोमा यो दृश्य ‘विराटनगरको’ भनी उल्लेख गरिएको छ । व्यस्त सडक । गाडीहरू ओहोर–दोहोर गरिरहेको देखिन्छ । भिडियो खिच्ने व्यक्ति विस्मय भावमा भन्छन्, ‘मान्छे पनि पशु भयो । यो के हो रु ट्याक्टरले बोक्ने भारी राँगालाई बोकाएको छ ।’ उनले राँगालाई भारी बोकाएर त्यसमाथि बसेका अर्का व्यक्तिलाई सोध्छन्, ‘ए भाइ के गरेको
यस्तो ? राँगाको माया लाग्दैन ?’
भारी बोकाउनेहरूमा कुनै संवेदना नै नभए जस्तो देखिन्छ । उनीहरू सुनेर पनि नसुनेझैँ गरी बाटो लाग्छन् ।
अर्को यस्तै मन बिथोलिने भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा एउटा घोडालाई यति धेरै फलामे रड बोकाइएको छ, उसले त्यसलाई कसैगरी तान्न सक्दैन । तब आजित भएर पछाडि फर्कन्छ । रडको भारीमाथि दुई व्यक्ति बसेका छन् । उनीहरूले घोडालाई निर्ममतापूर्वक पिट्न थाल्छन् ।
आखिर लौरोको पीडा सहन नसकी घोडा अगाडि बढ्न खोज्छ । तर, दुई–तीन पाइलासमेत हिँड्न सक्दैन । तैपनि घोडा मालिकले उसको पीडा बुझ्दैन । उल्टै लौरोले पिटिरहन्छ । भिडियो बनाउने व्यक्तिले भावुक हुँदै भनेका छन्, ‘यो धर्तीमा हामी मान्छेजस्तै सृष्टि भएको प्राणीलाई यति ठूलो अत्याचार मान्छेले नै गरिरहेका छन् । ‘…हामीले प्राणीलाई अत्याचार गर्न हुन्न । धेरै रुवाउन हुन्न भन्ने लाग्छ ।’
यो दृश्य कहाँको हो वा कहिलेको हो ? खुलाइएको छैन ।
त्यसो त यी प्रतिनिधि दृश्य हुन् । पशुलाई क्षमताभन्दा बढी काम लगाउने, भारी बोकाउने प्रवृत्ति व्यापक छ ।
कतिले यसलाई सामान्यरुपमा लिने गरेका छन् भने कतिपयले जीविकाका लागि त्यसरी भारी बोकाउनु बाध्यता हो भन्ने गरेका छन् । यसमा ‘पशु हो जे गरेपनि हुन्छ’ भन्ने मनोविज्ञान हावी भएको पाइन्छ । पशुलाई आफ्नो उपभोग्य बस्तु ठान्ने मान्छेले उनीहरूको पीडालाई भने एकरत्ती पनि बोध गरेको पाइँदैन ।
वास्तवमा कुनैपनि पशुलाई क्षमताभन्दा बढी भारी बोकाउन, दौडाउन पाइँदैन । यो अपराध हो । अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्, ‘मानिसलाई पशुपन्छीलाई दुर्व्यवहार गर्दा कानुनी सजायको व्यवस्था छ भनेर नै थाहा छैन । त्यसैले यो पशुपन्छी सम्बन्धी कानुनको विषयमा प्रचारप्रसार गर्नुपर्छ ।’
उनका अनुसार घरपालुवा जनावरलाई समेत यातना दिँदा तथा दुर्व्यवहार गर्दा पनि तीन महिनासम्म जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।