Aamsanchar

झापामा पत्रकारिता र पत्रकार महासंघ

Author Image
सोमवार, वैशाख ८, २०८२

पृष्ठभूमि
विचार र अभिव्यक्तिको स्वतन्त्रता सम्वन्धी जनताको अधिकारलाई सुनिश्चित गर्ने उत्तम विकल्प नै पत्रकारिता हो । विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ । नेपाली पत्रकारिता साहित्यिक पत्रकारिताबाट शुरु भएको मान्न सकिन्छ ।
नेपालमा पत्रकारिताको ऐतिहासिक विकासक्रम खोतल्ने हो भने १७३ बर्ष अगाडि पुग्नुपर्ने हुन्छ । वि.स. १९०८ सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्कँदा एउटा प्रेस भित्र्याएका थिए । हाते मेसिनको टाउकोमा पखेटा फिंजाएको गिद्धको आकृति भएकाले त्यसलाई ‘गिद्धे प्रेस’ भन्ने गरिन्थ्यो । थालाथलीस्थित जंगबहादुर निवासमा रहेको यसै प्रेसलाई पछि ‘टाइप छापाखाना’ भनेको पाइन्छ । यो नै नेपालको पहिलो प्रेस भएको मानिन्छ । जहानियाँ राणा शासनमा पनि प्रेस अर्थात् पत्रकारिताप्रतिको आवश्यकता र महत्व भएको जंगबहादुरको उक्त कार्यले पुष्टि गर्छ ।

नेपाली पत्रकारिताको शुरुवात भने वि.स. १९४३ देखि मोतीराम भट्टले शुरु गरेका हुन् । नेपाली भाषामा पहिलो पत्रिका ‘गोर्खा–भारत जीवन’ मोतीरामको अगुवाइमा भारतको बनारसबाट प्रकाशित भएको थियो । मोतिरामकै सक्रिय योगदानका कारण वि.सं. १९५५मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधासागर’को प्रकाशन शुरु भयो । सुधासागरपछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोर्खापत्र’ हो । नेपालकै जेठो समाचारमूलक अखबार गोर्खापत्र वि.सं. १९५८ बैशाख २४ गते सोमवारदेखि साप्ताहिक रुपमा प्रकाशित हुन थाल्यो । यसको पहिलो तालुकवाल (व्यवस्थापक) पं. नरदेव पाण्डे हुनुहुन्थ्यो र दोस्रो जय पृथ्वीबहादुर सिंह । वि.सं. १९६९देखि विद्युतबाट सञ्चालित छापाखानामा छापिएर गोरखापत्र प्रकाशित हुन थाल्यो । ‘गोर्खापत्र’ वि.सं. १९८३ देखि ‘गोरखापत्र’ भयो । वि.सं. १९९१ देखि पत्रिकामा ‘सम्पादक’को नाम लेख्न थालियो । पहिलोपटक प्रधानसम्पादकको रुपमा बालकृष्ण समको नाम भेटिन्छ । वि.सं. २०२०मा ‘गोरखापत्र छापाखाना’को नाम ‘श्री ५ को सरकारको छापाखाना’ राखियो । वि.सं. २०३९देखि गोरखापत्र वेभ अफसेट मेसिनबाट छापिन शुरु भयो । सुधासागरलाई मानेर आउँदा यसरी पत्रकारिताले हाम्रो देशमा प्रवेश गरेको पनि १२६ बर्ष पुगिसकेको छ । समाचारपत्रका रुपमा प्रारम्भ भई १२३ बर्षदेखि लगातार चलिरहेको गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको गौरबको रुपमा रहेको छ ।

वि.सं. १९९१ सालदेखि ‘शारदा’ साहित्यिक मासिक प्रकाशित भयो । यसको प्रकाशन सुब्बा ऋद्धिबहादुर मल्लले गरेका थिए । राणा सरकारकाबाट सहयोग प्राप्त भए पनि मोतीराम भट्ट, भानुभक्त आचार्य, शम्भुप्रसाद ढुङ्गेल जस्ता व्यक्तित्वको राम्रो पहिचान यसै पत्रिकाबाट भएको थियो । वि.सं. २००७ अघि आर्थिक तथा अन्य कारणबाट यी पत्रिकाहरु प्रकाशनको केही समयपछि बन्द हुने गर्थे । मोहन शम्शेरको प्रधानमन्त्रित्वकालमा पहिलोपटक वि.सं. २००५मा ‘छापाखाना र प्रकाशन सम्बन्धी ऐन’ जारी भयो । यसले प्रजातान्त्रिककालको कल्पना गर्दै अगाडि बढेको पत्रकारिता क्षेत्रमा बाधाअड्चन सिर्जना ग¥यो ।

राणा शासनको अन्त्यपछि २००७ सालको प्रजातान्त्रिक संविधानले मौलिक अधिकारका रुपमा वाक् तथा प्रकाशन स्वतन्त्रतालाई मान्यता दिएपछि पत्रपत्रिकाहरुको प्रकाशनले पुनः जीवन पायो । देशका विभिन्न ठाउँहरुबाट विभिन्न भाषामा पत्रपत्रिकाहरुमा प्रकाशित भए । २००७–२०१७ सम्मका पत्रपत्रिकाहरुमा समाचार, समीक्षा, पार्टीगत, मुखपत्र, शिक्षा, लोक जागृति र साहित्यसँग सम्बन्धित मुख्य थिए ।

वि.सं. २०१७ देखि २०३६ सम्म पत्रकारिताको इतिहास स्वतन्त्र पत्रकारिताका दृष्टिकोणले कमजोर रह्यो । जननिर्वाचित सरकारलाई भङ्ग गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरिएको यस अवधिमा पत्रकारिता धेरै संकुचित हुन पुग्यो । वि.सं. २०१९ मा जारी भएका छापाखाना र प्रकाशन सम्वन्धी ऐन र छापाखाना र प्रकाशन रजिष्टे«शन ऐनको उद्देश्य प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्नु थियो  । पत्रिका प्रकाशनमा प्रतिबन्ध भएको यस अवस्थामा पनि पत्रकारिता सम्बन्धी केही संघ–संगठनहरुले विकासका पूर्वाधार निर्माण गरेका थिए । राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल, प्रेस क्लब, प्रेस पारिश्रमिक संघ, श्रमजीवी पत्रकार सभा, गोरखापत्र कर्पोरेशन आदि संस्थाहरुको स्थापनाले पत्रकारिताको विकासमा महत्वपूर्ण टेवा पुग्यो । पञ्चायतकाल जस्तो जटिल एवम् प्रतिबन्धित अवस्थामा समेत धेरै पत्रपत्रिकाहरु प्रकाशित भएका पाइन्छन् । वि.सं. २०३४–०३५ सम्ममा ९४ अखबारहरु प्रकाशित भएको अभिलेख छ । यस अवधिमा पत्रकारहरुको गिरफ्तारी र कारवाहीका श्रृंखलाहरु भने असंख्य छन् ।

वि.सं. २०३६ जेठ १ गते जनमत संग्रहको घोषणा भएपछि वाक् तथा प्रकाशन स्वतन्त्रतामा केही खुकुलो वातावरण सिर्जना भयो । वि.सं. २०३६–२०४६को अवधिमा लक्ष्यमुखी पत्रकारिता (Mission Journalism) को विकास भयो । बहुदलीय र निर्दलीय व्यवस्थाबीच प्रतिस्पर्धात्मक पत्रपत्रिकाहरु देखापरे । जनमत संग्रहपछि बहुदलवादीको पराजय भए पनि बहुदलवादीसमेतको दबाबमा ‘वाक् तथा प्रकाशन स्वतन्त्रता ऐन, २०३७’ जारी गरियो । वैचारिक क्षेत्रमा खुकुलोपन आएपछि पत्रकारिताले पुनः फस्टाउने मौका पायो । आ.ब. २०३९/४०मा १०९ पत्रिकाहरु दर्ता भएका थिए । २०४६ सालको आन्दोलनमा पत्रपत्रिकाको भूमिका महत्वपूर्ण रह्यो । त्यस बेलासम्म दैनिक ४२, साप्ताहिक २५०, पाक्षिक ३४१ पत्रपत्रिका दर्ता भएका थिए । २०४६ पछि बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि पत्रकारिताले औद्योगिक रुप लिइसकेको छ । निजी क्षेत्रबाट सञ्चालित कान्तिपुर, नागरिक, द काठमान्डू पोस्ट, नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट, द हिमालयन टाइम्स, राजधानी दैनिक, नयाँ पत्रिका, कारोबार, अभियान लगायतका दैनिक पत्रिका एवम् साप्ताहिक र पाक्षिक पत्रिकाहरु व्यवसायिक रुपले नै अगाडि बढेका छन् । हाल नेपालमा दर्ता भएका पत्रिकाको संख्या आठ हजार हाराहारीमा भए पनि नियमितको संख्या नौ सय जति मात्र छ । करिव एक हजार दुई सय रेडियो, दुई ३० टीभी, चार हजार बढी अनलाइन न्यूज पोर्टल रहेका छन् ।

वि.सं. २०५४ मा रेडियो सगरमाथाले प्रशारण अनुमति पाएर दक्षिण एशियामै निजी क्षेत्रबाट सञ्चालित प्रथम रेडियो हुने सौभाग्य पायो । च्यानल नेपाल नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित टेलिभिजन बन्न पुग्यो । हिमाल पाक्षिक, नेपाल र समय साप्ताहिकले नयाँ स्वादको पत्रकारिता शुरु गरे । इमेज टेलिभिजन, कान्तिपुर टेलिभिजन र नेपाल टेलिभिजन मेट्रोले पनि यसै अवधिमा जन्मने र हुर्कने मौका पाए । यसैबीच भारतबाट प्रशारण हुने नेपाल वन पहिलो नेपालीभाषाी विदेशी टेलिभिजनका रुपमा स्थापित भयो । यसै समयमा नेपालन्यूज, कान्तिपुर अनलाइन लगायत (हाल ‘इ–कान्तिपुर’ नाममा सञ्चालित) इन्टरनेट माध्यमबाट नेपाली समाचारलाई संसारभर पु¥याउन शुरु गरियो । द्वन्द्वले मुलुक आक्रान्त भएका बखत पनि नेपाली पत्रकारिताको भूमिका प्रभावकारी रह्यो । २०६१ साल माघ १९ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन शुरु भए पछि नेपाली पत्रकारितामा व्यापक अंकुश लगाइयो । पत्रकारिता क्षेत्रलाई नै तहसनहस बनाउने गरी सञ्चार अध्यादेश जारी गर्नेदेखि सरकारी पक्षबाटै सञ्चारमाध्यममा हस्तक्षेप र कब्जा गर्नेसम्मका दुष्प्रयास भए । २०६३ बैशाख ११ गते लोकतन्त्र वहाली भएपछि नेपाली पत्रकारिता जगतले पुनःजीवन पाएको छ । सूचनाको हक, २०६४ र श्रमजीवी पत्रकार ऐन (पहिलो संशोधन) २०६४ जारी भएका छन् । नेपालको संविधान २०७२ ले प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ को प्रत्याभूति गरेको छ । संविधानको भाग ३ धारा १७(२)‘क’ तथा धारा १९ (१),(२) र (३) ले विचार र अभिव्यक्तिको स्वतन्त्रताका साथै सञ्चारको हकलाई ग्यारेन्टी गरेको छ । ०७६÷०७७ मा कोभिड १९ को विश्वव्यापी महामारीपछि नेपाली सञ्चारमाध्यम क्रमश धरासायी बन्दै गयो । कैयौं सञ्चार माध्यम बन्द भए भने कैयौं पत्रकारले रोजगारी गुमाए । त्यसवीचमा इन्टरनेटको माध्यमबाट गरिने पत्रकारिता अनलाइन पत्रकारिता अझ स्वरोजगारमूलक सञ्चार माध्यमको संख्यामा वृद्धि भएको छ । स्मार्ट फोन र इन्टरनेटको सहज पहुँचले नागरिक पत्रकारिता मौलाएको छ । डिजिटल पत्रकारिताको अहिलेको समयमा एआईले थपेको चुनौति र अवसरकावीच नेपाली पत्रकारिता अघि बढेको छ ।

झापामा पत्रकारिता
समयक्रमसँगै पत्रकारिता राजधानीबाट बाहिरी (मोफसल)जिल्लाहरुमा प्रवेश हुँदै गयो । देशले मागेका आन्दोलनहरु र विकासका गतिहरु सँगसँगै पत्रकारिताले आफ्नो क्षेत्रलाई व्यापक गर्दै गयो । पूर्वमा सीमान्त जिल्लाका रुपमा रहेको झापा देशकै एक सचेत सक्रिय जिल्लाका रुपमा चिनिन्छ । भारतको पश्चिम बंगालसँग सीमा जोडिएको यो जिल्ला भारतबाट धेरै नै प्रभावित छ । झापाको १४४ किमी क्षेत्र भारतसंग सीमा जोडिएको छ । भारतको दार्जीलिङका नेपालीहरुको भाषा साहित्य सम्बन्धी सक्रियताले पनि यो जिल्लालाई निकै प्रभावित गरेको छ ।

नेपाली पत्रकारिताको इतिहास खोज्ने हो भने झापाले महत्वपूर्ण हैसियत राखेको छ । निरंकुश पञ्चायत कालदेखि नै झापाको पत्रकारिता एकताबद्ध भएर अघि बढेको थियो । अझ यसलाई उत्साहजनक ढंगले अघि बढ्न र गुणात्मक फड्को मार्न यहाँका प्रबुद्ध पाठक, बुद्धिजीवीहरुको विशेष देन रहेको छ ।
यो क्रमलाई नियालेर हेर्ने हो भने झापाका पत्रकारहरुले पत्रिका सञ्चालन गर्दादेखि नै संगठनात्मक सूत्रमा बाँध्ने जमर्को नगरेका होइनन् । समय, काल र परिस्थितिसँगै यहाँका पत्रकारहरु एउटा छातामुनि गोलबद्ध हुँदै गए र नेपाल पत्रकार संघ झापा शाखा गठन हुन पुग्यो । समयको माग अनुसार नेपाल पत्रकार संघ– महासंघमा परिणत भई पत्रकारहरुको मूल संगठनको रुपमा स्थापित भएको छ ।

नेपाल पत्रकार संघ झापा शाखा गठन भएपछि खासगरी यसले पत्रकारिता र पत्रकारहरुको विकास सँगसँगै अगाडि बढायो । स्थापनाकालको पत्रकार संघले संगठनको ढाँचा तयार ग¥यो, त्यसपछि कुशल संगठन र कार्यालय सञ्चालन गर्दै यसले पत्रकारिता कस्तो हुनुपर्छ र पत्रकार कसरी चल्नुपर्छ भन्ने कुरामा थुप्रै अन्तरसंघर्षहरु गरेको थियो ।
नेपाली पत्रकारिता प्रजातान्त्रिक आन्दोलनका हरेक संघर्षसँग जोडिएको छ । प्रजातन्त्र र मानव अधिकारका पक्षमा सदा संघर्ष गरिआएको नेपाली पत्रकारिताको महासमरमा झापाली पत्रकारिताको स्थान अझ महत्वपूर्ण रहेको छ । पत्रकारिता क्षेत्र सदा चुनौतिपूर्ण रही आएको छ । आजको यो खुल्ला परिस्थिति र प्रविधिको समयमा यसले संस्थागत र व्यवसायिक हुन झन् बढी संघर्ष गर्नुपर्ने अवस्था चुनौतिका रुपमा छ ।

कालखण्डमा राष्ट्रलाई नै प्रभावित गर्ने राजनीतिक घटनाक्रमहरु यस जिल्लाले जन्माएको छ । राष्ट्रले मागेका र राजनीतिक आन्दोलनहरु, संघर्षशील प्रतिभा तथा राष्ट्रिय नेतृत्वका व्यक्तिहरु जन्माई झापाले देशलाई सदा गति प्रदान गरिआएको छ ।
यो जिल्लाले जसरी अरु क्षेत्रमा आफ्नो प्रभाव देखाएको छ, त्यसैगरी पत्रकारिताको क्षेत्रमा पनि विशिष्ठ योगदान पु¥याएको छ । ७१ बर्ष लामो पत्रकारिताको इतिहास बोकेको यस जिल्लाले पत्रकारिताका प्रसंगमा कैयौं उतार चढावहरु बेहोरेको छ । २०१० साल मंसीर १२ गतेदेखि प्रकाशित हुन थालेको ‘केटो’ मासिक पत्रिका झापाली पत्रकारिताको इतिहासमा जेठो सावित भएको छ । सोही पत्रिकाका सम्पादक श्यामकृष्ण उपाध्याय पनि झापाका जेठा सम्पादकका रुपमा प्रतिष्ठित हुनुहुन्छ ।
पत्रकारको व्यसायिक हक हित तथा सुरक्षाको लागि सशक्त वकालत गर्न छाता संस्थाको रुपमा नेपाल पत्रकार महासंघ रहेको छ । मुलुक संक्रमणकालबाट गुज्रिरहँदा आम नागरिकको आशा अनि भरोसाको केन्द्रको रुपमा सदैव पत्रकार महासंघ रहिआएको छ । पत्रकारिताका हिसाबले अत्यन्त प्रतिकूल अवस्थाको सामना गर्दै निरन्तर नागरिक अधिकारको पक्षमा विगतमा यसले निर्बाह गरेको भूमिकाका कारण पनि महासंघप्रति आम नागरिकको त्यस्तो अपेक्षा रहनु स्वाभाविक हो । यो विश्वासमा खरो उत्रनु महासंघ र यसका सदस्य पत्रकारहरुको एक किसिमको निरन्तरको संघर्षको परिणाम हो । परीक्षामा पास हुन सके मात्रै पत्रकारका नाताले हामी स्वयंले दाबी गर्दै आएको र हामीले नै निर्बाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व पूरा हुन सक्छ । नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरूको पेशागत संगठन हो । यसले अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता प्राप्त गरेको छ । नेपाल पत्रकार महासंघको अभिलेख अनुसार यस संस्थाको स्थापना २०१२ चैत १६ गते (सन् १९५६ मार्च २९) भएको हो । त्यसबेला संस्थाको सभापति पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । नेपाल पत्रकार संघ स्थापनाको ३४ वर्षपछि झापामा पत्रकार संगठित भएको इतिहास भेटिन्छ ।

झापाली पत्रकारहरुलाई एकताको सूत्रमा बाँध्न र स्वतन्त्र निष्पक्ष र यथार्थमूलक समाचार सम्प्रेषण गराउन नेपाल पत्रकार संघ र गोविन्द वियोगीको महत्वपूर्ण योगदान छ । पञ्चायती कालमा प्रतिबन्धित राजनीतिक पार्टीहरुका निम्ति मात्र नभई प्रजातन्त्रका पक्षमा काम गर्न सबैका निम्ति अप्ठ्यारो थियो । पत्रकारहरु बारम्बार थुनामा पर्ने, पत्रिकाको दर्ता खारेज हुने, जरिवाना तिर्ने जस्ता कुराहरु सामान्य मानिन्थ्यो । तर, पत्रकारिता क्षेत्र भने कहिल्यै कुण्ठित भएन । आत्मबल युक्त जमातहरुमा यो केन्द्रित रहेकाले पनि पत्रकारिता क्षेत्र सदा सक्रिय रहन सकेको थियो ।

२०४६ साल पुस ८ र ९ गते झापा चन्द्रगढीको कलवलगुडीमा नेपाल पत्रकार संघ (वियोगी)को मोफसलमा पहिलो वैठक बस्यो । सो वैठकले पारित गरेको निर्णयलाई झापा घोषणापत्र मानिएको छ । उक्त बैठकले नेपाल पत्रकार संघको झापा शाखाको गठन गर्यो । उक्त समितिले तदर्थ समितिको रुपमा काम गरेको थियो । त्यही समितिलाई पछि संस्थापक समिति मानियो । झापाली पत्रकारहरुलाई एकताको सूत्रमा बाँधी संगठित र संस्थागत रुपमा अघि बढाउन तत्कालीन नेपाल पत्रकार संघ (वियोगी) को योगदान महत्वपूर्ण मानिएको छ । झापाको कलवुलगुडीमा ०५२ वैशाख १६–१८ गतेसम्म भएको १७ औं केन्द्रीय महाधिवेशनले संघलाई महासंघमा रुपान्तरण गरेको इतिहास छ । महासंघ झापाले हालसम्म १३ वटा नेतृत्वको कार्यकाल पूरा गरेको छ भने हाल शुद्धीकरण अभियानपछि महासंघ झापाको सदस्य संख्या २२० कायम भएको छ । महासंघ झापाको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित टिमले हाल काम गरिरहेको छ ।

नेपाल पत्रकार महासंघ झापाको हालसम्मको कार्य समिति
१, संस्थापक (तदर्थ) कार्यसमिति : २०४६–२०४७
सभापति : डिल्लीराम निर्भिक, सचिव : तारा बराल, सदस्यहरु: मदन ढकाल, भरत भुर्तेल, मोहन ढुंगाना, गोपीकृष्ण खनाल, गोविन्दचन्द क्षेत्री, केशव आचार्य र गोविन्द अधिकारी ।
२, कार्यसमिति : २०४७–२०४९
सभापति : तारा बराल, उप सभापति : कृष्ण दाहाल, सचिव चन्द्र भण्डारी, सहसचिव : राजबाबु शंकर, कोषाध्यक्ष : केशव धिताल, सदस्यहरु : भरत भुर्तेल, केशव आचार्य, माधव विद्रोही, सूर्य नेपाल, डिकमान विरही, गञ्जबहादुर दाहाल, ईश्वरीमान श्रेष्ठ, गोपाल गिरी, रामनाथ बाँस्कोटा, लीला बराल ।
३, कार्यसमिति : २०४९–२०५१
सभापति : गोविन्दचन्द छेत्री, उपसभापति : केशव धिताल, सचिव : लीला बराल, सहसचिव : लोकराज ढकाल, कोषाध्यक्ष : लक्ष्मी लुइँटेल, सदस्यहरु : राजबाबु शंकर, नेत्र पाठक, खगेन्द्रकुमार कार्की, माधव विद्रोही, अमृतलाल श्रेष्ठ, लक्ष्मण ढकाल, केपी कन्दङ्वा, लेखनाथ शिवाकोटी, नितु सुब्बा ।
४, कार्यसमिति : २०५१–२०५३
सभापति : केशव आचार्य, उपसभापति : गञ्जबहादुर दाहाल, सचिव लोकराज ढकाल, सहसचिव : गोपाल गिरी, कोषाध्यक्ष : अमृतलाल श्रेष्ठ, सदस्यहरु लक्ष्मण ढकाल, नेत्र पाठक, राजबाबु शंकर, रामनाथ बाँस्कोटा, डिकमान विरही, माधव विद्रोही, लक्ष्मी लुइँटेल, टंक दुलाल ।
५, कार्यसमिति : २०५३–२०५५
सभापति : चिन्तामणि दाहाल, उपसभापति : डिकमान विरही, सचिव : नेत्र पाठक, कोषाध्यक्ष : गोपाल गिरी, सदस्यहरु : केशव आचार्य, माधव विद्रोही, राजबाबु शंकर, रोजिना पौड्याल, तोयानाथ उपेक्षित ।
६, कार्यसमिति : २०५५–२०५८
सभापति : रामनाथ बाँस्कोटा, उपभापति : कष्ण हुमागाँई, सचिव : गोपाल गिरी, कोषाध्यक्ष : दीपक ढकाल, सदस्यहरु : धमेन्द्र भट्टराई, टेकबहादुर गिरी, मोहन काजी, भीम नेम्वाङ, युवराज पौडेल ।
७, कार्यसमिति ः २०५८–२०६२
सभापति : माधव विद्रोही, उपसभापति : कृष्ण हुमागाँई, सचिव : भीम नेम्वाङ, कोषाध्यक्ष : दिपीन राई, सदस्यहरु : लक्ष्मण ढकाल, रोजिना पौड्याल, टंक दुलाल, धमेन्द्र भट्टराई, रमेश पोखरेल, लेखनाथ भट्टराई, गोपाल काफ्ले
८, कार्यसमिति : २०६२–२०६४
सभापति/अध्यक्ष : कृष्ण हुमागाँई, उपभापति/उपाध्यक्ष : गोपाल गड्तौला, सचिव : मोहन काजी, कोषाध्यक्ष : तारामणि सापकोटा, सदस्यहरु : देवेन्द्र पौडेल, विष्णु सुब्बा, रमेश समदर्शी, दीपेन्द्रकुमार कार्की, टीकाराम नेती, रोशनराज बाँस्तोला, सावित्रा दाहाल ।
९, कार्यसमिति : २०६४–२०६७
अध्यक्ष ः मोहन काजी, उपाध्यक्ष ः विष्णु सुब्बा, सचिव ः गणेश पोखरेल, सहसचिव ः राजेन्द्र गौतम, कोषाध्यक्ष ः कृष्ण मिश्र, सदस्यहरु ः केशव आचार्य, इन्दू पूर्वेली, डिकेश लामा, पवन राजवंशी, पारस तिम्सिना, दीपक अधिकारी ।
१०, कार्यसमिति : २०६७–२०७०
अध्यक्ष : गणेश पोखरेल, उपाध्यक्ष : तीर्थ सिग्देल, सचिव : दीपेन वाला राई, सहसचिव : एकराज गिरी, कोषाध्यक्ष : विशाल नेम्वाङ, सदस्यहरु : अनिल ढुंगाना, केशव भट्टराई, झुलन रेग्मी, विष्णु पोखरेल, राजु अधिकारी, सुब्रत न्यौपाने, निर्मला तिम्सिना, पर्वत पोर्तेल, अर्जुन राजवंशी, पार्थ मण्डल ।
११) कार्यसमिति ः २०७०–२०७३
अध्यक्ष : भीम नेम्वाङ, उपाध्यक्ष : तारामणि सापकोटा, सचिव : एकराज गिरी, सहसचिव : गोपाल झापाली, कोषाध्यक्ष : प्रेम आचार्य, सदस्यहरु : अर्जुन कार्की, अर्जुन राजवंशी, आत्माराम राजवंशी, गंगा बराल, पुष्प बराल, पार्थ मण्डल, मनकुमार तुम्सा, रञ्जित परियार, रमेश क्षेत्री, राजु पाठक, सुरेन्द्र भण्डारी, राजकुमार ओली, सुशीला संग्रौला, अमित खम्बू ।
१२, कार्यसमिति : २०७३–२०७७
अध्यक्ष : तारामणि सापकोटा, उपाध्यक्ष : एकराज गिरी, उपाध्यक्ष (महिला) : भीमाकुमारी शिवाकोटी, सचिव : सन्तोष आचार्य, सहसचिव : केशव भट्टराई, सहसचिव(समावेशी) : इन्द्रजीत मुखिया, कोषाध्यक्ष : ईश्वर अधिकारी, सदस्यहरु : अनिलदेव राई, विनोद सापकोटा, देबु बानियाँ, लीलाराज झापाली, लक्ष्मी काफ्ले, पार्थ मण्डल, सुष्मा राजवंशी, रमेश तिवारी, रञ्जित परियार, सन्तोष शर्मा, सुशीला संग्रौला, उत्तम नेपाल, रञ्जित प्रसाई ।
१३,कार्यसमिति : २०७८–२०८१
अध्यक्ष : एकराज गिरी, उपाध्यक्ष : केशव भट्टराई, उपाध्यक्ष (महिला): सुशीला संग्रौला, सचिव : डिकेश लामा, सहसचिव : राजु पाठक, सहसचिव(समावेशी) : अर्जुन राजवंशी, कोषाध्यक्ष : रञ्जित प्रसाई, सदस्यहरु : सन्तोष शर्मा, स्वस्तिका आचार्य, विनोद पाण्डे कमल, रञ्जित परियार, चिरञ्जिवी घिमिरे, राजन साम्पाङ, होमप्रकाश अधिकारी, सुनिरा मैनाली, सुष्मा राजवंशी, अच्युत सुवेदी, द्रोण अधिकारी, मनिषा चम्लागाई, अनिल वाग्ले ।
१४, कार्यसमिति : २०८१ देखि
अध्यक्ष : एकराज गिरी, उपाध्यक्ष : सुब्रत न्यौपाने, उपाध्यक्ष (महिला): बिनिता गौतम, सचिव : राजु पाठक/प्रदीप परियार, सहसचिव : रमेश तिवारी, सहसचिव(समावेशी) : तिलक तामाङ योञ्जन, कोषाध्यक्ष : मुक्ति पौडेल, सदस्यहरु : सन्तोष शर्मा, स्वस्तिका आचार्य, विनोद पाण्डे कमल, द्रोण अधिकारी, भूकुमारी लिम्बू, इन्द्रकुमार राई, मनकुमार गदाल, अस्मिता साँखी, ईशा प्रधान, दीपेश राजवंशी, देबेन्द्र प्रसाई, भूमिराज पराजुली, सुदीप अधिकारी ।

केन्द्रीय समितिमा प्रतिनिधित्व :
नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न कालखण्डमा झापाली पत्रकारहरुले प्रतिनिधित्व गरेका छन् । झापाका शिव गाउँलेले महासंघको अध्यक्षको रुपमा सफल नेतृत्व गर्नुभएको छ । तर उहाँ झापा शाखाको सदस्य भने होइन । झापा शाखाको सदस्यहरुले महासंघको पदाधिकारी तथा केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभएको छ । चन्द्र भण्डारी महासंघको केन्द्रीय सचिव हुँदै महासचिव निर्वाचित हुनुभयो । उहाँ महासचिव निर्वाचित महाधिवेशनले नेपाल पत्रकार संघलाई महासंघमा रुपान्तरण गरेको थियो । त्यस्तै मदन ढकाल, लीला बराल, मोहन काजी र गणेश पोखरेलले केन्द्रीय सदस्य भई जिम्वेवारी पूरा गर्नुभएको छ ।
भवन तथा जग्गा
नेपाल पत्रकार महासंघ झापाका दुई वटा भवन रहेका छन् । बिर्तामोडको बसपार्कस्थित भवनमा कार्यालय रहेको छ । सात धुर जमीनमा रहेको भुइँतले भवनलाई महासंघको वर्तमान नेतृत्व(०७८–०८१)ले स्तरोन्नति गरी तीन तला बनाएको छ । जहाँ वैठक कक्ष, पुस्तकालय, ई–पुस्तकालय, प्रशासनिक कक्ष सहित आवश्यक संरचना निर्माण गरिएको छ । पुस्तकालय, ई–पुस्तकालय तथा महासंघ झापाको छुट्टै वेबसाइट सञ्चालनमा समेत ल्याइएको छ । त्यस्तै भद्रपुरमा एक कठ्ठा जमीनमा रहेको भुइँतले घर भाडामा लगाई महासंघको नियमित आम्दानीको स्रोत बनाइएको छ भने माथिल्लो तला भद्रपुर क्षेत्रका पत्रकारहरुको संस्था प्रेस क्लवले स्तरोन्नति गरी कार्यालय व्यवस्थापन गर्न अख्तियारी दिइएको छ । जस अनुसार ट्रष्टलगाई कार्यालय तथा सभाहल बनाइएको छ ।
उपचार कोष :
महासंघ झापाका सदस्यहरुको सामाजिक सुरक्षाका लागि पत्रकार सहारा उपचार कोष स्थापना गरिएको छ । ०८१ वैशाख ३ गते कोषमा एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ पुगेको घोषणा गरी दाताहरुलाई कोषको संस्थापक घोषणा गरिएको छ । सोही समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको बाहुलीबाट दाताहरुलाई सम्मानसमेत प्रदान गरिएको थियो । कोषको व्याजबाट कार्यविधिअनुसार पत्रकारहरु घाइते वा बिरामी हुँदा ५० हजारसम्म उपचार खर्च, सुत्केरी पत्रकारलाई २५ हजार, सरहेबापत ११ हजार र पत्रकारको मृत्यु भएमा एक लाख रुपैयाँ परिवारलाई प्रदान गर्न थालिएको छ । त्यस्तै ६५ वर्ष माथिका ज्येष्ठ पत्रकारलाई वृत्ति स्वरुप वार्षिक एकमुष्ट १५ देखि २० हजार रुपैयाँ प्रदान गर्न थालिएको छ ।
पुरस्कार तथा अक्षयकोष
पत्रकारितामै जीवन समर्पण गर्नुहुने, लामो समय योगदान गर्नुहुने अग्रजहरुको सम्मान तथा पेशामा क्रियाशीलहरुलाई प्रोत्साहित गर्न नेपाल पत्रकार महासंघ झापाले विभिन्न पुरस्कार स्थापना गरेको छ । मोती र केटो पत्रकारिता पुरस्कार पहिले नै स्थापना भएका थिए भने महासंघको वर्तमान नेतृत्व(०७८–०८१)ले ती पुरस्कारको लागि रहेको एक लाखको अक्षयकोष वृद्धि गरी पाँच लाख पुर्याएको छ भने अरु पाँच वटा पुरस्कार स्थापना गरेको छ । सबै पुरस्कारको अक्षयकोष रकम १२ लाख ५१ हजार रहेको छ ।
१, मोती पत्रकारिता पुरस्कारः नेपाली पत्रकारिताको शुरूवातकर्ता मोतीराम भट्टको स्मृतिमा ‘मोती पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो । नेपाल पत्रकार महासंघ झापा शाखाले तत्कालीन सभापति केशव आचार्य र तत्कालीन निवर्तमान सभापति गोविन्दचन्द्र क्षेत्रीको अगुवाईमा नेपाली पत्रकारिताको शुरूवातकर्ता मोतीराम भट्टको स्मृतिमा ‘मोती पत्रकारिता पुरस्कार’ स्थापना भएको हो ।
पुरस्कारको राशि शुरूमा एक हजार रहेको थियो । विभिन्न समयमा पुरस्कारको राशि वृद्धि गरी ५१ हजार पुर्याइएकोमा नेपाल पत्रकार महासंघ झापाको २०७९ कात्तिक २५ को साधारणसभाको निर्णय बमोजिम यस पुरस्कारको राशि रू.१०,११११ (एक लाख एक हजार एक सय एघार रुपैयाँ मात्र) पुर्याइएको छ ।
२, टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार: भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशिसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो । हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखावीच भएको दुई पक्षीय सम्झौता बमोजिम रु. ५ लाखको अक्षयकोषसहित पुरस्कार स्थापना गरिएको हो ।
हेम–सरिता फाउण्डेशनका संस्थापकका पिता टंकप्रसाद पाठक र माता रमादेवी पाठकको नामबाट हरेक वर्ष टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

३, सक्रिय समावेशी पत्रकारिता पुरस्कारः नेपालको संविधान २०७२ ले समेत हरेक क्षेत्रमा ग्यारेण्टी गरेको समावेशीताको विषयलाई आत्मसात गर्दै नेपाल पत्रकार महासंघ झापाको २०७९ कात्तिक २५ को साधारणसभाको निर्णय बमोजिम ‘सक्रिय समावेशी पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । पुरस्कारको राशि हाललाई रू.२५,५५५(पच्चीस हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) कायम गरिएको छ ।
४, केटो पत्रकारिता पुरस्कारः झापाका जेठा पत्रकार÷सम्पादक श्यामकृष्ण उपाध्यायको स्मृति र उहाँद्वारा सम्पादित झापाको पहिलो पत्रिका २०१० साल मंसीर १२ गतेदेखि प्रकाशित ‘केटो’को सम्मानमा तत्कालीन सभापति चिन्तामणि दाहालको कार्यकालमा ‘केटो’ पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
शुरूमा पुरस्कारको राशि ५ सय रूपैयाँ रहेको थियो । विभिन्न समयमा पुरस्कारको राशि वृद्धि गरी रु. १५ हजार पुर्याइएकोमा नेपाल पत्रकार महासंघ झापाको २०७९ कात्तिक २५ को साधारणसभाको निर्णय बमोजिम रू.२५,५५५(पच्चीस हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) पुर्याइएको छ ।
५, लैङ्गिक समानता पत्रकारिता पुरस्कार: लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा गर्ने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमुलक र प्रभावशाली समाचार/आलेख प्रकाशन/कार्यक्रम प्रशारण गरी पत्रकारिता गर्ने मध्येबाट एक जना पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष रु.२५००० राशि सहित पुरस्कृत गर्न “ लैङ्गिक समानता पत्रकारिता पुरस्कार” स्थापना गरिएको छ ।
समानताको पक्षधर तथा विभेदमुक्त समाजका लागि घरपरिवार गाउँटोलमा सदैव प्रेरणा प्रदान गर्नु हुने झापा बिर्तामोड १ निवासी माता मनमाया र पिता केदार बजगाँईको स्मृतिमा छोरा–बुुहारी विपीन (विश्वेश्वर) र विनीता (होमकला) बजगाँईद्धारा महासंघ झापामा रु.दुई लाख ५१ हजार अक्षयकोषसहित पुरस्कार स्थापना गरिएको हो ।

६, उदीयमान पत्रकारिता पुरस्कार (दुई जनालाई): व्यवसायिक पत्रकारिताको अभ्यासमा प्रवेश गरी क्रियाशील उदीयमान पत्रकारहरुलाई प्रोत्साहित गर्न नेपाल पत्रकार महासंघ झापाले ‘उदयीमान पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । पुरस्कारको राशि हाललाई जनही रू.१११११ (एघार हजार एक सय एघार रुपैयाँ मात्र) कायम गरिएको छ ।
टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार, सक्रिय समावेशी पत्रकारिता पुरस्कार, लैङ्गिक समानता पत्रकारिता पुरस्कार, उदीयमान पत्रकारिता पुरस्कार एकराज गिरीको कार्यकाल (०७८–०८१) मा स्थापना भई ०८१ वैशाख १७ गते भएको १४ औं जिल्ला अधिवेशनबाट वितरण शुरु भएको हो ।

कार्यविधि
महासंघ झापाको वर्तमान नेतृत्व(०७८–०८१)ले वैठक तथा अक्षयकोष र पुरस्कारहरुलाई व्यवस्थित तथा विधिसम्मत अघि बढाउन विभिन्न कार्यविधिहरु निर्माण गरी लागू गरेको छ । जसअन्तर्गत वैठक सञ्चालन कार्यविधि २०८०, मोती, केटो, सक्रिय समावेशी र उदीयमान पत्रकारिता पुरस्कार अक्षयकोष सञ्चालन तथा पुरस्कार कार्यविधि २०८०, टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार अक्षयकोष सञ्चालन तथा पुरस्कार कार्यविधि २०८०, स्व. मनमाया–केदार बजगाँई स्मृति लैङ्गिक समानता पत्रकारिता पुरस्कार कार्यविधि २०८०, पत्रकार सहारा उपचार कोष कार्यविधि २०८० (परिमार्जित) रहेका छन् ।
अन्त्यमा
झापाको पत्रकारिताले सात दशकको अवधि गुजारेको छ भने संगठित भए यता नेपाल पत्रकार महासंघ झापाले साढे तीन दशकको समय पूरा गरेको छ । यस अवधिमा झापाली पत्रकारिताको क्षेत्रमा महासंघले थुप्रै महत्वपूर्ण काम गरेको छ । मुलुकमा सबैखाले परिवर्तनमा अग्रमोर्चा मै रहेर प्रेसले निर्वाह गरेको भूमिका स्मरणीय छ । नागरिकको सूचनाको हकको ग्यारेण्टी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि महासंघको भूमिका महत्वपूर्ण रही आएको छ । पत्रकारिताको गरिमा र विश्वसनीयता बढाउने दायित्व अहिलेका पत्रकारजन्य संगठन,सञ्चारमाध्यम र पत्रकार स्वयंको हो । महासंघसहित पत्रकारजन्य सबै संगसंगठनको साझा दायित्व र एजेण्डा भनेको व्यवसायिक र मर्यादित पत्रकारिताको विकास हुनुपर्छ । जसका लागि पत्रकारको क्षमता विकास, सञ्चार संस्थाको व्यवसायिकरण आवश्यक छ । तीनै तहका सरकारले यस विषयलाई उचित प्राथमिकता दिनुपर्छ । प्रविधिको उच्चतम् सदुपयोगमार्फत आम नागरिकका लागि विश्वसनीय ढंगले सञ्चारकर्ममा अग्रसर हुनु आजको आवश्यकता हो । पत्रकारको सामाजिक सुरक्षा र भौतिक सुरक्षालाई समेत ध्यानमा राखेर अझ दीगो र महत्वपूर्ण काममा अग्रसर हुनसक्नु पर्छ । यसका लागि सरकार तथा सरोकारवालासंगको समन्वय, स्रोत, साधन र क्षमताको उच्चतम् उपयोग गर्दै नयाँ खोज अनुसन्धानमा आधारित तथा नागरिकको रुचीका विषयमा प्रविधिमैत्री पत्रकारिताको विकल्प छैन ।
सञ्चार माध्यमको संख्या बढेर मात्र हुँदैन । पेशागत मर्यादा र व्यवसायिकता कायम राख्दै स्वस्थ , स्वच्छ र वस्तुगत आधारमा गुणस्तरीय समाचार र सूचना सम्प्रेषण गरेर समाजलाई दिशानिर्देश गर्नु आवश्यक छ । स्वनियमन र आचारसंहिता पालनाले नै मिडियालाई विश्वसनीय र जिम्मेवार बनाउँछ । समय सुहाउँदो व्यवसायिक पत्रकारिताको विकास र पत्रकारको सुरक्षाका लागि केही महत्वपूर्ण काममा अग्रसर हँुदैआएको पत्रकार महासंघ झापा साझा एजेण्डा पूरा गर्न सहकार्यका लागि तयार छ ।

(फोनिज झापाद्धारा प्रकाशित पुस्तकबाट)
लेखक गिरीे नेपाल पत्रकार महासंघ, झापाका अध्यक्ष हुन ।  [email protected]

Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर