काठमाडौँ । सरकारले सुपारी आयातमा लागू गरिएको कोटा प्रणाली हटाएको केही समयमै सुपारीको आयात मचबmबतिक रूपमा बढेको छ। राजपत्रमा फागुन १ गते कोटा हटाउने निर्णय सार्वजनिक गरेसँगै आयातमा तीव्र वृद्धिको संकेत भन्सार विभागको तथ्यांकले देखाएको हो।


विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिनामा मात्र ५८ करोड ८३ लाख रुपैयाँ बराबरको सुपारी आयात भएको छ। सो अवधिमा ४२ लाख २२ हजार ४५९ किलो सुपारी नेपाल भित्रिएको छ। यसबाट सरकारले १ अर्ब ४२ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।


चैत महिनामै १० करोडभन्दा बढीको सुपारी आयात
फागुनमा कोटा हटेपछि चैत महिनामै सुपारी आयात एकाएक वृद्धि भएको देखिन्छ। चैतमा मात्रै १० करोड ८५ लाख रुपैयाँ बराबरको ६ लाख ६७ हजार ५ सय किलो सुपारी भित्रिएको छ। यसबाट १६ करोड ६५ लाख रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ।

यता, फागुनमा २ करोड ९७ लाख रुपैयाँ बराबरको १ लाख ७० हजार किलो सुपारी आयात हुँदा ४ करोड २७ लाख राजस्व संकलन भएको थियो। माघमा भने २ लाख २४ हजार किलो सुपारी भित्रिएको थियो, जसको मूल्य ३ करोड २२ लाख रुपैयाँ थियो।

तस्करीको आशंका, उत्पादकहरू असन्तुष्ट
नेपालमा सुपारी उत्पादन गर्ने किसानहरू भने सरकारले विदेशबाट आयात खुला गरेर भारतीय बजारतर्फ तस्करीलाई प्रोत्साहन दिएको आरोप लगाउँदै आएका छन्। उनीहरूका अनुसार स्वदेशी सुपारीको बजार खुम्चिएको छ, जबकि विदेशबाट आयात गरी भारततर्फ तस्करी गर्ने गिरोह सक्रिय छन्।
यसअघि २०७६ चैत २४ गते सरकारले सुपारीको अनियमित व्यापार र तस्करी नियन्त्रण गर्न ‘सुपारी निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ को दफा ३ अनुसार आयातमा रोक लगाएको थियो। तर अहिले त्यही वस्तुको आयात फेरि खुला भएपछि आलोचना चुलिएको छ।
सबैभन्दा बढी सुपारी कहिले आयात भयो?
भन्सार विभागका अनुसार चालु वर्षको साउन, भदौ र चैत महिनामा सबैभन्दा बढी सुपारी आयात भएको हो।
-
साउनमा: ८ लाख ४९ हजार किलो सुपारी (१०.८५ करोड मूल्य)
-
भदौमा: ८ लाख ३० हजार किलो सुपारी (१०.०५ करोड मूल्य)
-
चैतमा: ६ लाख ६७ हजार किलो सुपारी (१०.८५ करोड मूल्य)
यो वृद्धिले आयात आधारित राजस्व त बढाएको छ, तर घरेलु उत्पादन र बजारलाई जोखिममा पारेको भन्दै सरोकारवालाहरू चिन्तित छन्।




