Aamsanchar

ह्वात्तै बढ्यो गर्मी

Author Image
बुधवार, वैशाख १०, २०८२

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरैजसो जिल्लामा गर्मी ह्वात्तै बढेको छ। हिउँदे खडेरीपछि केही दिनअघि परेको पानीले शीतल महशुस गरिए पनि केही दिनयता तातो बढेको छ।

तापक्रम बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ। बढ्दो गर्मीका कारण मानिसहरूमा आँखा पोल्ने, टाउको दुख्ने, रिँगटा लाग्ने र जिउ चिलाउने लगायत स्वास्थ्य समस्या देखिन थालेको छ।

कति छ तापक्रम ?

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै गर्मी भैरहवामा भएको छ। मंगलबार धनगढी, भैरहवा र नेपालगञ्जको तापक्रम सबैभन्दा बढी ४० डिग्री सेल्सियससम्म पुगेको थियो। सोमबार भैरहवामा ३८.९ डिग्री सेल्सियस मापन गरिएको थियो।

यस्तैगरी काठमाडौंको न्यूनतम् तापक्रम १६-१८ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३१.६ डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौंको अधिकतम तापक्रम ३१.४ डिग्री थियो। काठमाडौंको हाल सम्‍मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियससम्म पुगेको थियो।

बुधबार काठमाडौंको अधिकतम तापक्रम ३१-३३ डिग्री पुग्ने अनुमान गरिएको छ भने भैरहवा र नेपालगञ्जमा ४०-४२, धनगढीमा ३९-४१, दिपायल, सिमरामा ३८-४० र जनकपुर, वीरेन्द्रनगरमा अधिकतम तापक्रम ३७-३९ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

जलवायु विज्ञ डा। धर्मराज उप्रेतीका अनुसार तराईमा तापक्रम ४० डिग्री पुग्नु हिट वेभ मानिन्छ भने काठमाडौंमा ३२ डिग्री नाघ्नु अत्यधिक गर्मी हुनु हो।

वैशाखमा गर्मी स्वाभाविक

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेल अहिलेको बढ्दो तापक्रम स्वभाविक भएको बताउँछिन्। ‘चैत, वैशाख, जेठ तातो बढ्ने महिना भएकाले वर्षा नहुञ्जेल तत्कालको बढ्दो गर्मीलाई स्वाभाविक मान्नुपर्छ’, उनले भनिन्।

यद्यपि लामो समयसम्म पानी नपरेर तापक्रम वृद्धिले अघिल्ला वर्षको रेकर्ड तोड्ने अवस्था भयो भने यसलाई जलवायु परिवर्तनसँग सम्बन्धित भएको मान्न सकिने उनको भनाई छ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर