काठमाडौँ । छिमेकी भारतमा जारी इन्डियन प्रिमियर लिग (IPL) को सीधा असर नेपालमा देखिन थालेको छ। गर्मीयामसँगै विद्युतको माग उच्च भइरहँदा, IPL खेलको समयमा भारतभित्रै माग चुलिएकाले नेपालले चाहेजति विद्युत आयात गर्न सकेको छैन।


नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल नेपालको पिक लोड (उच्चतम माग) २,०७७ मेगावाट रहेको छ, तर आन्तरिक उत्पादन मात्र १,१७५ मेगावाटमा सीमित छ। बाँकी अपुग विद्युत भारतबाट आयात गरिँदै आए पनि IPL को समयमा दररेट उच्च भएकोले आपूर्तिमा कठिनाइ आएको प्राधिकरणले जनाएको छ।


विद्युत् आयातमा कडाइ:
भारतसँगको १३२ केभी लाइनमार्फत साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म ३५० मेगावाट आयातको अनुमति भए पनि, हाल मैनैया–सम्पतिया लाइनबाट जम्मा ५० मेगावाट मात्रै आपूर्ति भइरहेको छ।

IPL खेलले माग चुलायो
प्राधिकरणको भनाइमा, IPL खेल हुँदा भारतमा घरायसी र व्यवसायिक खपत एकैसाथ बढ्ने गरेको छ। यसले गर्दा भारतीय बजारमा विद्युत दर चर्किएको र नेपालले खरिद गर्न कठिन भएको हो।

के हुन्छ समाधान?
प्राधिकरणले नदीनालामा बहाव बढ्दै गएकाले छिट्टै संकट समाधान हुने विश्वास व्यक्त गरेको छ। हाल औद्योगिक क्षेत्रमा आशिंक लोडसेडिङ गरिएको भए पनि, समग्र विद्युत व्यवस्थापनलाई सन्तुलित बनाउने प्रयास भइरहेको प्राधिकरणको भनाइ छ।




