




काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवा थाइल्याण्डको बैंककबाट सपरिवार स्वदेश फर्किएकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै भएको बताएकी छन् । मन्त्री राणाले बैंकक भ्रमणमा कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै पनि राजनीतिक भेटघाट नगरेको बताइन् । उनले भनिन् ‘उहाँको यो स्वास्थ्य चेकअप, चिया खान र पसर्ननल भ्रमण हो, राजनीति भेटघाटको कुनै कार्यक्रम थिएन ।’


मन्त्री राणाले सरकार परिवर्तनको हल्ला मात्रै भएको दाबी गरिन् । उनले भनिन्, ‘यो हल्ला मात्रै हो । केही समय मौनता भयो भने मनोरञ्जनका लागि न्यूजहरु आउने गर्छ । सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला विदेशमा बसेर हुँदैन । न्यूज हेरेर हामी आफै छक्क पर्यौं ।’ मन्त्री राणाले बैंककबाटै सभापति देउवा र प्रधानमन्त्री ओलीबीच हिजो टेलिफोनमा कुराकानी भएको जानकारी दिइन् ।

नेकपा माओवादी केन्द्रका नेताहरूले नियोजित ढंगले सरकार परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला बैंककबाट फर्केलगत्तै कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणाले त्यसको कडा खण्डन गरेका छन् ।





