Aamsanchar

काठमाडौं भ्युटावर : उपमेयर डंगोल पनि भत्काउने पक्षमा, सम्पदा संरक्षणमा स्पष्ट धारणा

Author Image
मङ्गलवार, वैशाख १६, २०८२

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा निर्माणाधीन ‘काठमाडौं भ्युटावर’ परियोजना विवादको घेरामा तानिँदै जाँदा उपमेयर सुनिता डंगोलले पनि यसलाई औचित्यहीन ठहर गरेकी छन्। मेयर बालेन्द्र शाहले भ्युटावर भत्काउने तयारी गरिरहेका बेला उपमेयर डंगोलको धारणा सार्वजनिक रूपमा आउनुले टावरको भविष्य अझ अनिश्चित बन्दै गएको छ।

पुरानो बसपार्कमा निर्माणाधीन यो भ्युटावर राजधानीको शहरी योजना र नेतृत्वमा उठेका असमझदारीका केन्द्रमा उभिएको देखिन्छ। पत्रकारहरूसँगको कुराकानीमा डंगोलले भनिन्, “प्रयोजन र उद्देश्यका लागि लिइएको जग्गा त्यसैका लागि प्रयोग हुनुपर्छ। जनतालाई झुक्याएर अन्य प्रयोजनमा प्रयोग गर्नु स्वीकार्य हुँदैन।”

उनको भनाइमा महानगरले सटर र भवन बनाएर व्यापार गर्नुको औचित्य छैन। “जहिले पनि म ‘पिपुल्स फस्ट’ अर्थात् जनतामै प्राथमिकता दिने पक्षमा हुन्छु,” भन्दै उनले विकासको नाममा ऐतिहासिक र सांस्कृतिक सम्पदामाथि आघात गर्न नहुने स्पष्ट गराइन्।

डंगोलले काठमाडौं भ्युटावर मात्र होइन, महानगर क्षेत्रमा विगतमा बनाइएका अन्य संरचनाहरू — जस्तै ठमेलको छाया सेन्टर र होटल हिल्टन — को समेत गहन अध्ययन आवश्यक रहेको बताइन्। पोखरीमाथि निर्माण गरिएको संरचना हटाएर पानीको स्रोतलाई जीवन्त बनाउनुपर्ने उनको धारणा थियो। “हिजोका पुस्ताले बनाएको सम्पदालाई आजको पुस्ताले बुझ्दैन भनेर ढाँट्न पाइँदैन,” उनको स्पष्ट सन्देश थियो।

यसैबीच, मेयर बालेन्द्र शाहले काठमाडौं टावरको नक्सा स्वीकृतिमा अनियमितता भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारबाही गरेका छन्। शाहले टावरमा ‘नीतिगत भ्रष्टाचार’ भएको आरोपसमेत सार्वजनिक गरेका छन्।

सम्पदामाथि बनाइएका संरचना, अनियमित प्रक्रिया र व्यापारमुखी दृष्टिकोणका कारण यो टावर विवादको केन्द्रमा तानिएको हो। उपमेयर डंगोलको पछिल्लो अभिव्यक्तिले यसमा थप गम्भीरता थपिएको छ। अब हेर्न बाँकी छ — काठमाडौंको भविष्य कुन मोड लिन्छ: भ्युटावरको छायाँमा व्यापार उन्मुख संरचनातर्फ कि पुरातात्विक सम्पदाको संरक्षणतर्फ?

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर